स्वास्थ्य/जीवनशैली
सुस्तापश्चिमको सुस्ता गाउँपालिकाका प्रत्येक टोलमा स्वास्थ्यकर्मीबाट घरदैलोमै प्रारम्भिक चरणको उपचार सेवा दिन सुरु
बर्दघाट- सुस्तापश्चिमको सुस्ता गाउँपालिकाका प्रत्येक टोलमा स्वास्थ्यकर्मीबाट घरदैलोमै प्रारम्भिक चरणको उपचार सेवा दिन थालिएको छ । चौधरी फाउण्डेसनले एक एमबिबिएस चिकित्सक र एक अनमी उपलब्ध गराएकाले आवश्यकताअनुसार प्रत्येक वडाको प्रत्येक गाउँ-गाउँमा पुगेर नागरिकलाई प्रारम्भिक चरणको उपचार सेवा उपलब्ध गर्न थालिएको हो ।
फाउण्डेसनले आवश्यक जनशक्ति उपलब्ध गराएकाले प्रसूति सेन्टरका साथै आवश्यकताअनुसार नागरिकको घर घरमा पुगेर प्रारम्भिक चरणको उपचार सेवा दिन थालिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेलले जानकारी दिए । निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद तथा उद्योगपति विनोद चौधरीको पहलमा उक्त फाउण्डेसनले उक्त जनशक्ति उपलब्ध गराएको थियो ।
गाउँपालिका र फाउण्डेसनबीच भएको सम्झौताअनुसार फाउण्डेसनले एक एमबिबिएस चिकित्सक र एक अनमीको खर्चका साथै प्रसूति सेन्टरमा आवश्यक उपकरण उपलब्ध गराएको थियो । सुस्ताको पक्लिहवास्थित प्रसूति केन्द्रबाट सेवा सञ्चालनमा आएपछि यहाँका महिला र बालबालिकाको स्वास्थ्य सेवामा सहज पहुँच पुग्ने बताइएको छ ।