सुर्खेत : कर्णाली प्रदेशको दुर्गम हिमाली जिल्ला हुम्लामा सडक पूर्वाधारको विस्तारसँगै प्रदूषण बढ्न थालेको छ।
सडक पूर्वाधारको विकास र विस्तार भएसँगै कर्णाली नदी प्रदूषित हुन थालेको हो भने स्थानीय उत्पादन घट्दा परनिर्भरता पनि बढ्न थालेको हो। कर्णाली करिडोरको सडक विस्तारसँगै हुम्लाको सर्केगाड गाउँपालिकाको मुख्य बजार सर्केगाडमा साविकको साँया गाविस र गोठी गाविसमा मानिसहरूका साथै बाहिरी जिल्लाबाट बसाइँ सरेर सडक छेउछाउमा बस्न आउने क्रम बढ्दो छ।
साँयाका ४ वटा गाउँका मानिसहरूको दैनिक उपभोग गर्ने सामानको मुख्य बजार भएका कारण पनि सर्केगाडमा बजार बढेको हो। बजार विस्तारको क्रम बढ्न थालेसँगै कर्णाली नदी पनि दूषित हुन थालेको छ। बजारबाट निस्किने फोहोर तथा ढल कर्णाली नदी किनारमा फाल्ने र नदी छेउछाउ खुला शौच गर्ने क्रम बढेका कारण कर्णाली नदी प्रदूषित बन्दै गएको भन्दै स्थानीय बासिन्दाले दुखेसो पोखेका छन्।
कर्णाली करिडोर निर्माण हुनुअघि यहाँका मानिसहरू कर्णालीकै पानी पिउँथे तर करिडोर निर्माणसँगै बस्ती विकासको क्रम बढ्दा नदी दूषित हुन थालेपछि कर्णालीको पानी नुहाउन, लुगा धुन तथा भाडा माझ्न मात्रै प्रयोग गर्न थालिएको स्थानीयवासी बताउँछन्।
स्थानीय रेलकला शाहीले शौचालयको ढल, खानेपानीको ढल निकासी गर्ने क्रम कर्णाली नदीमा बढेसँगै नदी प्रदूषित हुन पुगेको बताइन्।
उनले कर्णालीमा फोहोर बढ्दा पानी पिउन योग्य नरहेको बताइन्। त्यस्तै अर्का स्थानीय भीमबहादुर सिंहले कर्णाली नदीको छेउछाउमा बस्तीहरू बढेसँगै फोहर बढेकाले पानी पिउन योग्य नरहेको बताए। मृत पशुचौपाया पनि नदीमा नै फाल्ने गर्दा नदी अत्यधिक दूषित भएको उनले जिकिर गरे।
कर्णाली करिडोरको सडक विस्तारसँगै विकासको धमिलो बाछिटा हुम्लाको पर्यावरणमा देखिन थालेको विषयमा भने स्थानीय सरकार अनभिज्ञ देखिएको छ।
सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्की (मुक्ति) कर्णाली नदीमा बजारको फोहोर फाल्ने गरेको विषयमा आफू जानकार नरहेको भन्दै अब बजार अनुगमन गरेर नियन्त्रण अभियान सञ्चालन गर्ने बताउँछन्। उनले ढल निकासी नदीमा गर्नु नराम्रो भएको भन्दै आफैँले उपभोग गर्ने पानीमा ढल मिसाउनु सरासर गलत भएको बताए।
करिडोरअन्तर्गत यातायात सुचारु भएका हुम्ला जिल्लामा मात्रै नभई बाजुराका विभिन्न स्थानमा भएका बजारबाट निस्किने फोहोर पनि कर्णाली नदी किनारमा फाल्ने गरिएको छ। बाजुराका पर्यटन व्यवसायी जनेश भण्डारीले कर्णाली नदी संरक्षण गर्न अभियान सञ्चालन गर्नुपर्ने बताउँदै नदीको पानी कैलास जलको रूपमा उद्योग स्थापना गर्नुपर्नेमा जोड दिए।
नदीको संरक्षण नगर्ने हो भने भविष्यमा पहाडी क्षेत्रका बासिन्दाले पानी पिउन नपाउने स्थिति सिर्जना हुने बताए। उनले कर्णालीको पानी पानी उद्योगको रूपमा विकास गरी विदेशमा निर्यात गर्न सक्नुपर्ने बताए। उनले भविष्यमा मानव सभ्यता जोगाउने भूमिका कर्णालीले खेल्ने पनि बताए।
कर्णाली करिडोरमा यातायात सुचारु भएसँगै हुम्ला जिल्लाको आन्तरिक उत्पादन पनि लोप हुन थालेको छ। यहाँका स्थानी बासिन्दा आन्तरिक उत्पादनलाई प्रयोग गर्नेभन्दा पनि नेपालगञ्ज, रुपैडिहा लगायत तराईका जिल्लाबाट आयात गरी उपभोग गर्न थालेका कारण पनि आन्तरिक उत्पादन लोप हुन थालेको हो।
स्थानीय प्याराजंग शाहीले यातायात सुचारु हुँदा स्थानीयवासी काम गरेर खानेभन्दा पनि किनेर खानेमा निर्भर हुने गरेको बताए। हुम्लाको उत्पादनले बाहिरका बजारलाई विस्थापन गर्नुपर्नेमा बाहिरका सामग्रीहरूले स्थानीय बजार विस्थापन गरेको बताए।
बाहिरका सामग्रीलाई रोक्न भण्डारण केन्द्रको आवश्यकता रहेको बताए। त्यस्तै आन्तरिक पर्यटक दीपक आचार्यले विकाससँगै विकृति पनि भित्रिरहेको महसुस गरेको बताए। उनले विकासले स्थानीय उत्पादनहरू लोप हुँदै गएको बताए। उनका अनुसार हुम्लामा पछिल्लो समय बढ्दो शहरीकरण, स्थानीय उत्पादनमा ह्रास र परनिर्भरता बढ्दै गएको छ।
कुल क्षेत्रफलमध्ये ४ हजार २६७ हेक्टर खेतीयोग्य जमिन रहेको हुम्ला जिल्लामा कोदो, फापर, चिनो, कागुनो, नाफल, चुली, मकै, सिमी, उवा, जौ, मार्सी धान, आलु, खामु, स्याउ लगायत अन्नबाली र फलफूल उत्पादन हुँदै आए पनि सडक विस्तारका कारण परनिर्भरता बढेको छ।
यसरी खाद्य आयात निरन्तर बढ्दै गए हुम्ला जिल्ला लगायत आसपासका क्षेत्रमा खाद्य सुरक्षाको अवस्था चिन्ताजनक देखिने प्रायः निश्चित छ। यसका लागि राज्यका सम्बन्धित निकायले वेलैमा ध्यान दिन जरुरी छ।