
धनगढीः दार्चुलास्थित महाकाली नदीमा तुइनबाट खसेर एक जना पुरुष बेपत्ता भएका छन्। शनिबार साढे १ बजेकाे समयमा तुइनबाट खसेर व्याँस गाउँपालिका २ तल्लो दुम्लिङका ४४ वर्षीय सिङ्दलसिंह भण्डारी बेपत्ता भएका हुन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) श्याम चौधरीले आज दिउँसो साढे १ बजेतिर भण्डारी तुइनबाट खसेर बेपत्ता भएको खबर आएको बताए। उनका अनुसार बेपत्ता भण्डारीको खोजी कार्यमा अहिले ५ जना प्रहरीको टोली खटिएको छ।
भण्डारी नेपालबाट भारत जाने बेला तल्लो दुम्लिङस्थित तुइन घाटबाट खसेर बेपत्ता भएको बताइएको छ। बेपत्ता भण्डारीको खोजीमा स्थानीय बासी पनि जुटेका छन्।