तुलसीपुर– दाङको राप्ती गाउँपालिकाले पालिका निर्माण अभियान सुरुआत गरेको छ । ‘राप्ती निर्माण अभियान’ नाम राखेर गतिविधि सुरु गरेको अध्यक्ष प्रकाश विष्टले बताए ।
लुम्बिनी प्रदेशको राजधानी आफ्नै पालिकामा आएको अवस्थामा राजधानी सहर निर्माणदेखि सरसफाइ अभियान, सकारात्मक सोच तथा चिन्तन अभिवृद्धिका लागि यो अभियान सुरु गरिएको उनको भनाइ छ । ‘राजधानी पनि हाम्रै पालिकामा छ’, उनले भने, ‘त्यसैले पालिकालाई व्यवस्थित, सभ्य र संस्कार युक्त बनाउन यो अभियान चालिएको हो ।’ पालिकाको नेतृत्वमा रहेको यो अभियानमा यस क्षेत्रका जनप्रतिनिधि, राजनीतिक दल, सामाजिक सङ्घ संस्था, स्थानीय निर्वाचनका उम्मेदवारलगायतलाई समेटेर समिति बनाएको समेत उनले बताए ।