मनहरी– हेटौँडा उपमहानगरपालिकामा ६३ जना बालश्रमिक रहेको पाइएको छ । उपमहानगरका सामाजिक विकास महाशाखा प्रमुख विष्णुकुमारी लामिछानेका अनुसार पहिलो चरणमा १९ वटै वडामा संकलन गरिएको प्रारम्भिक तथ्यांकमा ६३ जना बालबालिकामा श्रममा रहेको पाइएको हो ।
वडागत विवरणअनुसार सबैभन्दा बढी वडा नम्बर ४ मा नौ जना छन् भने वडा नं ६ मा १२ जना छन् । साथै वडा नं १६ मा भने बाल श्रमिक नभेटिएको प्रमुख लामिछानेले भने। उनले बाल श्रमिकमा बालक ५५ जना र बालिका आठ जना रहेको जानकारी दिए ।
अठार वर्षमुनिका बालबालिकालाई श्रममा लगाइएको कानुनले बन्देज गरेको छ । कूल ६३ जनामा १७ वर्षका १४ जना, १६ वर्षका १३ जना १५ वर्षका १५ जना १४ वर्षका १३ जना, १३ वर्षका पाँच जना र १२ वर्षका तीनजना बाल श्रमिक छन् । उनीहरुमध्ये मकवानपुरका ३३ जना बाहिर जिल्ला २२ र छिमेकी राष्ट्र भारतका सात जना र एक जनाका विवरण नखुलेको प्रमुख लामिछानेले बताए ।
उनीहरुमध्ये मोटर ग्यारेजमा काम गर्ने बाल श्रमिक २२ जना रेष्टुराँ, होटल र ब्यांकेटमा १२, यातायात क्षेत्रमा १२, निर्माण ढुवानीमा सातजना, घरायसी काममा तीनजना, कवाडी र फ्याक्ट्रीमा दुई दुई जना र अन्यमा तीन जना रहेको पाइएको छ ।
तथ्यांक संकलनका क्रममा बाल श्रमिकमध्ये ५२ जनाले हाल गरिरहेको कामलाई नै भविष्यको योजना बनाएका छन् भने छ जनाले पढ्न चाहेको र पाँच जनाले सीप सिक्न चाहेको बताएका थिए । उनीहरुमध्ये २८ जनाले कमाएको पैसा घरमा पठाउने गरेको १६ जनाले पारिश्रमिक नपाउने, नौ जनाले आफूलाई मात्र खर्च गर्ने गरेको, नौ जनाले कमाइएको प्रयोग नखुलाएको र एक जनाले धूम्रपान मद्यपानमा खर्चने गरेको जनाएको छ ।
तथ्यांकअनुसार बाल श्रमिकले कामबापत न्यूनतम खान र बस्नदेखि अधिकतम मासिक १५ हजार पारिश्रमिक पाउने गरेको बालबालिका बताउँछन् । हेटौँडा उपमहानगरले वडावडामा बाल सहजकर्ता राखेर बालबालिकासम्बन्धी सूचकमा तथ्यांक संकलन गरिरहेको छ ।
हेटौँडा महानगरपालिकाले ‘बालमैत्री समाजको आधार, जिम्मेवार परिवार उत्तरदायी सरकार’ भन्ने मूल नाराका साथ मङ्सिर महिनाको अन्ततिर बालमैत्री घोषणा गर्ने तयारीमा रहेको प्रमुख लामिछानेले बताए ।