जोडिनुहोस
  • होमपेज
  • नेपालको बिजुली किन्न भारत र बंगलादेश आतुर छन् : कुलमान

नेपालको बिजुली किन्न भारत र बंगलादेश आतुर छन् : कुलमान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारत र बंगलादेश नेपालको बिजुली किन्न आतुर रहेको बताएका छन् । आइतबार तामाकोशी पाँचौं जलविद्युत आयोजनाको ऋण लगानीका लागि कर्मचारी सञ्चय कोषसँग सम्झौता गर्न आयोजित कार्यक्रममा घिसिङले नेपालमा उत्पादित विद्युत् बिक्री हुँदैन, बजार छैन भन्ने व्यापक चर्चा सत्य नभएको बताए ।

‘हाम्रो पहिलो प्राथमिकता देशभित्र उत्पादित विद्युत् यहीं खपत गर्ने हो,’ उनले भने, ‘यसका लागि प्रसारण र वितरणतर्फका पूर्वाधार विस्तार र सुदृढीकरणका काम देशभरी नै भइरहेको छ । देशभित्र खपत गरेर बचेको विद्युत निर्यात गर्ने हो ।’

देशभित्र खपत हुन नसकेको बिजुली निर्यातका लागि बजार खोज्न सकिने भन्दै उनले विद्युत बिक्रीका लागि बजारको जोखिम नभएको दाबी गरे । ‘भारत र बंगलादेशसँगका धेरै बैठकहरुमा भाग लिएपछिको मेरो अनुभवले के भन्छ भने नेपालमा उत्पादित विद्युत् बिक्रीका लागि बजार सुनिश्चित छ । त्यो पनि राम्रो मूल्यमा बिक्री गर्न सकिने देखिएको छ’ उनले भने ।

नेपालमा नदी प्रवाही जलविद्युत आयोजनाहरु वर्षायाममा पूर्ण क्षमतामा चल्छन् । त्यस्ता आयोजनाबाट वर्षायाममा उत्पादित विद्युत प्रतियुनिट ४ रुपैयाँ ८० पैसामा विद्युत खरिद बिक्री सम्झौता (पीपीए) गरिएको हुन्छ ।

‘वर्षायाममा आन्तरिक रुपमा खपत गरी बचत भएको भारत र बंगलादेशमा विद्युत बिक्रीका लागि राम्रो दरमा बिक्री गर्न सकिन्छ । हिउँदयाममा भन्दा वर्षायामा विद्युत निर्यातको दर राम्रो पाउने अवस्था छ,’ उनले भने, ‘यद्यपि, निर्यात हुने दरको टुङ्गो भने लागेको छैन ।’ निर्यात गर्दा वर्षायाममा दर राम्रो पाउने सम्भावना देखिएको उनले औंल्याए ।

भारत र बंगलादेश नेपालको जलविद्युत आयोजनामा लगानी गरेर निर्माण गर्नेभन्दा पनि उत्पादित विद्युत किन्ने पक्षमा रहेको उनले बताए ।

‘उनीहरुकोसँगको बैठकमा विद्युत उत्पादन गर्नुहोस् हामी किन्छौं, बजारको चिन्ता गर्नु पदैन भन्छन्,’ उनले भने, ‘भारतको खुला बजारमा विद्युत बिक्री गर्ने सँगै दुई–पाँच वर्षको अवधिको विद्युत खरिद सम्झौता (पीपीए) गर्न द्विपक्षीय छलफल सकारात्मक रुपमा अगाडि बढिरहेका छन् ।’

उनले बजार छैन भनेर पीपीए रोक्न नहुने बताए । ‘राज्यका निकायले केही जोखिम त लिनै पर्छ । पीपीए जोखिम मात्र हैन, अवसर पनि हो,’ उनले भने,‘ विगतमा पीपीए नगरिएको भए अहिले जलविद्युत आयोजनाहरु कसरी निर्माणमा जान सक्थे ? हाम्रा खोलानालाबाट उत्पादित हरित ऊर्जा बिक्रीका लागि चिन्ता छैन ।’

भारत र बंगलादेशलाई विद्युत बिक्रीका लागि ठूला प्रसारण लाइनका सञ्जाल निर्माण गर्ने, त्रिपक्षीय सहमति तयार गर्ने लगायतका कामहरु भइरहेको घिसिङले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका