
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थलको आन्तरिक पार्किङ वे अगाडि फोहोर नष्ट गर्ने मेसिन ‘इन्सिनरेटर’ सञ्चालनमा ल्याएपछि काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट उत्पादन हुने फोहोर अब विमानस्थल भित्रै नष्ट गरिने भएको हो ।
फोहोर व्यावस्थापनमा अन्तराष्ट्रिय विमानस्थलले सिकाएको पाठ सिक्दै विमानस्थलले आफूले उत्पादन गरेको फोहोर व्यवस्थापन आफैं गर्न सक्षम हुने अन्तर्राष्ट्रिय अभ्यासमा नेपालले पहिलो पटक मेसिन जडान गरेको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए ।
त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार विमानस्थल भित्र प्राकृतिक रुपमा उत्पादन हुने फोहोरको व्यावस्थापनका लागि विमानस्थलले नयाँ अभ्यास थालेको छ । त्रिभुवन विमानस्थले थालनी गरेको यस्तो अभ्यास देशैभरी लागू गर्ने विषयमा परिक्षणकालमा रहेको छ । उत्पादित फोहोर, कागजातसहित ठोस पदार्थहरुलाई यो मेसिनका माध्यमबाट नष्ट गर्न सकिने प्लाष्टिक, फलामरस्टिलसहितका खनिजजन्य र तरल पदार्थको व्यवस्थापन गर्दै ‘प्राकृतिक दृष्टिकोणले जलाउन नमिल्ने बाहेक अन्य फोहोर सो मेसिनको माध्यमबाट व्यावस्थान गर्न सकिन्छ ।
विमानस्थल भित्र यात्रु, वायुयान, कार्यालय र रेष्टुराँबाट दैनिक ४ ट्रकसम्म फोहोर उत्पादन गरेको छ । विमानस्थल भित्र जहाज मर्मत हुने स्थान भन्दा बाहेकबाट उत्पादन हुने फोहोर कागज, प्लाइउड, काष्ठजन्य तथा धुलोजन्य हुने भएकाले धेरैजसो फोहोर नष्ट गर्न सकिने भएको छ ।
जहाज भित्रको मलमूत्र भने विमानस्थलबाट ढलमा निकासी गर्ने व्यवस्था गरिएको छ । यस्तै विमानस्थल भित्र फोहोर व्यवस्थापन गर्न दुई वटा मेसिन जडान गरिएका छन् ।