काठमाडौँ । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित रहेको मौसमविदले जनाएका छन् । बङ्गालको खाडीको उत्तर–पूर्वी भागमा न्यून चापीय प्रणाली विकसित भइरहेको छ । जसको प्रभावले नेपालको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज (बिहीबार) दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम र बाँकी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
आज राति भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।