मस्को । उत्तर कोरियाली नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच साइबेरियाको अमुर क्षेत्रको रुसी अन्तरिक्ष केन्द्रमा भेट भएको छ ।
नेता किम कालो लिमोजिनमा कस्मोड्रोमको रकेट प्रक्षेपण गर्ने भवनमा आइपुग्दा राष्ट्रपति पुटिनले स्वागत गर्नुभएको थियो । दुवै नेताले मुस्कुराउँदै हात मिलाए र केही शब्दहरू आदान प्रदान गर्नुभयो । क्रेमलिनको आधिकारिक टेलिग्राम च्यानलमा पोस्ट गरिएको भिडियोमा दुई नेताले हात मिलाउँदै गरेको देखिन्छ ।
यसअघि रुसी राष्ट्रपति पुटिन र उत्तर कोरियाका सर्वोच्च नेता किमबीच सन् २०१९ मा भेटवार्ता भएको थियो । आजको द्विपक्षीय वार्तामा हतियार र सैन्य प्रविधि सम्झौता हुने अपेक्षा गरिएको छ । अन्तरराष्ट्रिय जगत्ले एक्ल्याएका नेताद्वयले हतियार सम्झौता गर्न सक्ने प्रवल सम्भावना रहेको सुरक्षा विश्लेषकहरूले बताएका छन् । उनीहरूका अनुसार आफ्नो अभेद्य रेल चढेर रुस भ्रमणमा आउनु भएका नेता किमले उत्तर कोरियाका वरिष्ठ सैनिक अधिकारीलाई साथमा ल्याउनुको अर्थ हतियार वार्ता हो भन्ने स्पष्ट हुन्छ ।
राष्ट्रपति पुटिनले पनि हतियारलगायत सबै विषयमा छलफल हुने पत्रकारहरूलाई बताउनु भएको छ । हतियार आपूर्ति वा सैन्य–प्राविधिक सहयोगबारे छलफल हुन्छ कि भन्ने पत्रकारहरूको जिज्ञासामा उहाँले त्यस्तो जवाफ दिनुभएको हो । नेता किमले उत्तर कोरियाको अन्तरिक्ष कार्यक्रम विकास गर्न चाहनुभएको बताउँदै त्यसनिम्ति भूउपग्रह सहयोग गर्ने बताउनुभयो ।
युक्रेनविरुद्धको युद्धमा रुसलाई गोला बारूदलगायत हतियारको धेरै आवश्यकता परेको छ । विश्वका सबैभन्दा धेरै सैन्य सामथ्र्य भएका देशमध्येको एक उत्तर कोरियाले रूसलाई आफूसँग भएका तोप, गोली र रकेट प्रस्ताव गर्ने सम्भावना छ । प्योङयाङले पुराना क्षेप्यास्त्र पनि प्रदान गर्नसक्ने विश्लेषकहरू बताउछन् । उत्तर कोरियाको हतियार भण्डारमा रुसलाई चाहिने यथेष्ट उपकरण छन् किनभने उत्तर कोरियाले सन् १९५३ मा कोरियाली युद्ध समाप्त भएयता कुनै युद्ध लडेको छैन ।
यसैबीच, उत्तर कोरियाली नेता रुसमा रहेका बेला दक्षिण कोरिया र जापानले उत्तर कोरियाको पूर्वी तटबाट प्योङयाङले छोटो दुरीका दुई वटा क्षेप्यास्त्र प्रक्षेपण गरेको घोषणा गरेका छन् ।