जोडिनुहोस
  • होमपेज
  • लोकप्रियतावादले बदल्ला त देशको अवस्था ?

लोकप्रियतावादले बदल्ला त देशको अवस्था ?

-मिलन अधिकारी उपाध्याय

ग्रीक दार्शनिक एरिस्टोटलले मान्छेलाई ३ तरिकाले पछि लगाउन सकिने तर्क गरेका छन् । पहिलो, तथ्यमा टेकेर विश्वसनीयता र नैतिकतालाई पत्याउने । दोस्रो, तर्कमार्फत आफ्ना कुरामा सहमत गराउने र तेस्रो, अरुको संवेदना र भावनामा खेलेर भड्काउने । अहिले सामाजिक सञ्जालहरुमा पहिलो र दोस्रो कुराका बारेमा छलफल नै हुन छाडेको छ ।

अहिले एरिस्टोटलको तेस्रो विधि अति लोकप्रिय छ । सामाजिक सञ्जालहरुमा अरुका भावना र संवेदनामा खेल्ने, न्यूनतम र अति आधारभूत विषयलाई भयावह बनाएर प्रस्तुत गर्ने तरिका खुब चलेको छ । मान्छेलाई प्रोक्सी मुद्दाबाट दिग्भ्रमित बनाएर पछि लगाउने शैली नै लोकप्रियतावाद (पपुलारिज्म वा पपुलिस्ट वा हिरोइज्म) रुपमा नेपालमा हावी भईरहेको छ।

अमेरिकी लेखक माइकल केजिनका अनुसार लोकप्रियतावाद १९औं शताब्दीमा संयुक्त राज्य अमेरिकामा उदाएको हो । विस्तारै यसले पश्चिम युरोपतिर सन् १९७० को दशकमा ठाउँ लियो । सन् २००८÷०९ ताका देखिएको आर्थिक मन्दीपछि युरोप र अमेरिकामा दक्षिणपन्थी, वामपन्थी सबैखाले राजनीतिमा लोकप्रियतावाद हावी हुन थालेको पत्रकार तथा लेखक जोन बी जुडिसले ‘दि पपुलिष्ट एक्सप्लोजन’ पुस्तकमा उल्लेख गरेका छन् ।

विश्व राजनीतिमा मुख्य रुपमा लोकप्रियतावादी भनेर अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनियाँ राष्ट्रपति सी जिन पिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई चिनाईने गरिन्छ । जसले अति राष्ट्रवादको भावनामा खेल्न सफल भए ।

नेपालको सन्दर्भमा हेर्ने हो भने वि.सं. २०५१ सालमा एमाले सरकारले अगाडि सारेको लोककल्याणकारी कार्यक्रमसहितको बजेटलाई तत्कालीन विपक्षी नेपाली कांग्रेसले ‘पपुलिस्ट’ भनेर विरोध जनाएको थियो । त्यसपछि यो शब्दावलीको प्रयोगले नेपालमा समेत व्यापकता पाएको हो ।

त्यसपछिका समयमा नेपालमा यसको प्रयोग नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओेलीले भरपुर रुपमा गर्दै केही समय सत्ता समेत चलाए । त्यस्तै मधेश आन्दोनको आक्रमक नारा लिएर नेपाली सत्ता राजनीतिमा उदाएका उपेन्द्र यादव, मधेशीको भावनासंग खेलेको नारा लिएर उदाएका डा. सिके राउत, पश्चिम नेपालमा थारु आन्दोलनको जगमा उदाएको नागरिक उन्मुक्ति पार्टी , विचारमाथी देशको नारा लगाएर राप्रपा छिरेका रविन्द्र मिश्र लगायतहरु पनि यसैको भरमा नेपालमा राजनीति गरिरहेका छन् ।

उबेला कांग्रेसले भनेको ‘पपुलिस्ट’को शिकार अहिले गगन थापाहरुको आवरणमा कांग्रेस आफैं भइरहेको छ भने ओलीलाई मात् खुवाउने गरि नेपालको राजनीतिमा यसका अगुवाका रुपमा बालेन र रविको छायाँभित्र ठूलो समूह सक्रिय छ ।

लोकप्रियतावादले कसरी काम गर्छ ?
यसले अति आधारभूत विषयलाई मुद्दा बनाउने, त्यसलाई संसार परिर्वतन यसैबाट मात्रै सम्भव छ भन्ने तरिकाबाट प्रस्तुत गरेर सर्वसाधारणलाई कामकाजी सत्ताविरुद्ध प्रयोग गर्ने, अन्ततः व्यवस्था परिवर्तन र सत्ता प्राप्तिमा प्रयोग हुने ‘टुल’का रुपमा ‘पपुलारिज्म’को इतिहास भेन्टिन्छ । सामान्य भाषामा भन्दा अति साधारण मानिने सरोकारहरुलाई अतिरञ्जनायुक्त लेप लगाएर उचालिन्छ । त्यो उत्तेजना र आवेगलाई क्याच गरेर विद्यमान व्यवस्थाले हामीलाई दुःख दिएको कतिपय मान्दछन् । त्यसलाई ध्वस्त बनाउनुपर्छ भन्ने भावनाको विकास गर्दै त्यसकाविरुद्ध जनमतका रुपमा प्रयोग गर्ने नै लोकप्रियतावादको शैली हो ।

लोकप्रियतावादमा सेलिब्रेटीहरूको बाहुल्य हुने हुँदा आफूलाई विलक्षण प्रतिभाको प्रतिमूर्ति भएको दाबी गर्छन् । सार्वजनिक सूचनामा विशेष पहुँच राख्छन् । सूचना र प्रविधिमैत्री हुने भएकाले सामाजिक सञ्जालको भरपूर प्रयोग गरी ई–अर्गनाइजेसनको सञ्जाल बनाउँछन् । हरेक विषयवस्तुलाई रंगीन, नाटकीय र कलात्मक ढंगले प्रस्तुत गर्न सक्छन् । कुनै पनि विचार दृष्टिकोणले लेस नभएका मतदातालाई भड्कावपूर्ण परिचालनमार्फत उनीहरूको ब्रेन–वास गर्दै आफूलाई देवत्वकरण गर्न सफल हुन्छन् । सबैको विरोध गर्ने र सुन्दर काल्पनिक नारामा समाज बहकाउने गर्छन् । राजनीतिक सिद्धान्त र दृष्टिकोण उनीहरूसँग नहुने हुँदा स्पष्ट रूपमा सामाजिक तथा वर्गीय पक्षधरता हुँदैन । समाजमा जुन वर्गको बाहुल्य छ जो यथास्थिति तथा पुराना दलसँग सन्तुष्ट छैनन्, आफूलाई त्यही वर्गको पक्षधर भएको घोषणा गर्छन् ।

आधुनिक युगमा नवउदारवादको विकृतिका रूपमा लोकप्रियतावादको जन्म हुने गरेको हुँदा उनीहरूको अघोषित पक्षधरता मध्यम वर्ग र पुँजीपति वर्ग नै रहेको पाइन्छ । राजनीतिक सिद्धान्त र संगठनात्मक मूल्य–मान्यताबेगरको राजनीतिक परियोजना भएको हुँदा यसको दीर्घजीवन तथा स्थायित्व हुँदैन । यसले नारा रोप्दछ, नारा उमार्छ, नारा फलाउँछ, तर जनतालाई बाँड्ने बेलामा नाराको विश्वसनीयता समाप्त भई धोकामा परिणत भइसकेको हुन्छ । यसमा नेतृत्वलाई देवत्वकरण गर्छन्, जब सत्तामा पुग्छन् तब सत्तामा टिकिरहनका लागि निरंकुश बन्दै जान्छन् । एक–अर्काको अस्तित्वलाई स्वीकार नगर्ने प्रवृत्तिले गर्दा तीव्र अन्तर्विरोध रहन्छ । सत्ता र शक्तिमुखी रहने प्रवृत्ति सर्वथा हाबी रहन्छ । मुलुकको आधारभूत समस्याको पहिचान र उठान गर्नुको सट्टा सतही मुद्दालाई भाइरल बनाइन्छ ।

लोकप्रियतावादको विश्वव्यापी जन्मकुण्डलीलाई अर्थ–राजनीतिक तथा समाजशास्त्रीय दृष्टिकोणबाट हेर्नुपर्ने हुन्छ । मुलुकमा क्रियाशील राजनीतिक दलहरू असक्षम र कमजोर बन्दै जानु, जनविश्वास गुमाउनु, गरिबी, बेरोजगारी, दण्डहीनता, भ्रष्टाचार जस्ता कारणले मुलुक आक्रान्त बन्दै जानु र यस्ता विकृति र विसंगतिबाट मुक्तिका लागि जनतामा तीव्र परिवर्तनको चाहना हुनु नै लोकप्रियतावादको जन्मको मूल कारण हो । तर, यि सबै समस्याहरुको समाधान पपुलिज्म हो त ?

जर्ज बर्नाड साले भनेका थिए – ‘संसारको सबभन्दा महत्वपूर्ण सुनौलो नियम के हो भने संसारमा कुनै सुनौलो नियम छैन । लोकप्रियतावाद पनि नामको लोकप्रियतावाद हो ऊसँग कुनै स्पष्ट राजनीतिक विचारधारा हुँदैन, विश्व दृष्टिकोण हुँदैन । संगठनात्मक पद्धति, मूल्य–मान्यता हुँदैन । आफूलाई ओजस्वी ठान्ने सेलिब्रेटी नेतृत्व हाबी रहन्छ । उनीहरुमा सामूहिक नेतृत्व प्रणाली नहुने हुँदा राजनीतिक उत्तराधिकारी हुँदैन । सेलिब्रेटी व्यक्तिहरू आकस्मिक रूपमा राजनीतिमा आउने हुँदा ऐतिहासिक राजनीतिक लिगेसी हुँदैन, ‘इजी कम इजी गो’ भनेजस्तो मात्र हुन्छ ।’
लेखक मिलन अधिकारी उपाध्याय सञ्चारकर्मी हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका