जोडिनुहोस
  • होमपेज
  • घना जंगल पार गरेर अमेरिका जानेको संख्या ४ लाख नाघ्यो, कसरी जान्छन् ?

घना जंगल पार गरेर अमेरिका जानेको संख्या ४ लाख नाघ्यो, कसरी जान्छन् ?

काठमाडौं – घना जंगल पार गरेर अमेरिका जाने आप्रवासीको संख्या यो वर्ष चार लाख नाघेको छ । पानामा सरकारले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पनामा र कोलम्बिया बीचको घना जङ्गल खण्ड पार गरेर अमेरिका जानेको संख्या चार लाख नाघेको हो । गत वर्षको तुलनामा यो सङ्ख्या ६२ प्रतिशतले बढी भएको पनामा सरकारले बिहीबार जनाएको छ ।

ड्यारियन ग्याप भएर अमेरिका जानु ज्यादै जोखिमपूर्ण मानिन्छ किनभने यो बाटोमा घना जंगल छ । जंगली जनावरको डर उत्तिकै छ भने विभिन्न किसिमका खोलानाला पार गर्नुपर्छ । जोखिम यतिमा समाप्त हुँदैन । आप्रवासीलाई लुट्न आपराधिक गिरोहहरू जंलमा नै बसिरहेका हुन्छन् । भाग्यवश उनीहरू लुटिएनन् भनेपनि ती गिरोहले सुरक्षित बाटो देखाइदिने नाममा आप्रवासीहरूबाट पैसा भने असुलेरै छाड्छन् ।

आप्रवासीहरूका लागि दुई सय ६५ किलोमिटर लामो जोखिमपूर्ण ड्यारियन ग्यापको बाटो दक्षिण अमेरिकाबाट मध्य अमेरिका र मेक्सिको हुँदै संयुक्त राज्य अमेरिका पुग्ने प्रमुख ‘कोरिडोर’बनेको छ । पनामाका अधिकारीहरूलाई घना जंगल क्षेत्र ड्यारियन ग्यापमा मर्ने आप्रवासीहरूको वास्तविक संख्याबारे जाानकारी छैन । उनीहरूलाई यससम्बन्धमा कसैले कुनै जानकारी उपलव्ध गराएको छैन तर धेरै आप्रवासीको यो कठिन यात्रामा मृत्यु हुने गरेको छ ।

पनामाको गृह मन्त्रालयले बुधवारसम्म चार लाख दुई हजार ३० जना ड्यारियन ग्यापतर्फ गएका बताएको छ । कोलम्बियाबाट हरेक दिन चार हजार आप्रवासी त्यसतर्फ जाने गरेका छन् । कोलम्बियबाट अमेरिकाको सपना लिएर जाने अधिकांशमा भेनेजुएला, हाइटी, इक्वेडर र कोलम्बियाका नागरिक छन् भने तिनमा केही चिनियाँ र अफगानिस्तानी पनि छन् ।

आप्रवासीहरूको थेग्नै नसकिने आगमनलाई नियन्त्रण गर्न पनामा सरकारले यसै महिनादेखि गैरकानूनी रूपमा आफ्नो भूमिमा प्रवेश गर्नेहरूलाई फर्काउन थालेको छ । यद्यपि त्यो नियन्त्रण हुन सकेको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका