साता कारोबारको अन्तिम दिन बिहीबार पनि सेयर बजारको गिरावटले निरन्तरता पायो । १० दशमलव ८६ अंकले घटेर नेप्से १८४७ विन्दुमा अडियो । दशैंपछि मात्रै बजार ५६ अंक घटिसकेको छ । दशैंअघि १९०३ अंकमा सेयर बजार अडिएको थियो ।
बिहीबार होटल तथा पर्यटन उपसमूह भने ४ अंक बढ्यो । चन्द्रागिरि हिल्स, सोल्टी होटल, तारागाउँ रिजेन्सी, ओरियन्टल होटल, सिटी होटल लगायत कम्पनीको मूल्य बढेकाले यो उपसमूह बढ्न टेवा पुग्यो । चन्द्रागिरि हिल्सको सबैभन्दा धेरै ६ प्रतिशत मूल्य बढ्यो । सोल्टीको ४ दशमलव ७७, तारागाउँको ४ दशमलव १७, ओरियन्टल होटलको ३ दशमलव ८१ र सिटीको २ दशमलव ५ प्रतिशत मूल्य बढ्यो ।
अक्टोबर महिनामा सबैभन्दा धेरै पर्यटक नेपाल भित्रिएको समाचार बाहिरिएपछि होटल तथा पर्यटन क्षेत्रसँग सम्बन्धित कम्पनीको सेयरमा केही सुधार देखिएको हो । सन् २०२३ को अक्टोबरमा मात्रै १ लाख १७ हजार ३०६ जना पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
होटलबाहेक म्युचुअल फण्ड सामान्य ० दशमलव ०७ अंक हरियो रह्यो । अरु सबै उपसमूह घटे । बैंकिङ १०, विकास बैंक १२, फाइनान्स १७, जलविद्युत् २१, जीवन बीमा ३७, माइक्रोफाइनान्स २५, निर्जीवन बीमा ९०, अन्य ९ र ब्यापार उपसमूह ८१ अंक घटे ।
दिनभर कुल ४० कम्पनीको मूल्य बढ्यो भने १९० को घट्यो । लघुवित्ततर्फ हिमालयन लघुवित्तको मूल्य ५ प्रतिशत बढ्यो । यस दिन धेरै गुमाउनेमा जलविद्युत् कम्पनीहरु अगाडि रहे । सयपत्री हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । रावा इनर्जीको ७ दशमलव ४, बुद्धभूमि नेपालको ५ दशमलव ९, सामलिङ पावरको ४ दशमलव ८, सुपर माइ हाइड्रोको मूल्य ४ दशमलव ७ प्रतिशत घट्यो ।
धेरै कारोबार हुने कम्पनीहरुमा आशा लघुवित्त संस्थापक, प्राइम कमर्सियल बैंक संस्थापक, सोना सिमेन्ट, सोल्टी होटल र हाथवे इन्भेस्टमेन्ट क्रमशः अगाडि रहे ।