
भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय ३२ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा एक सय ४० जना घाइते भएका छन् । जाजरकोटमा ९५ जनाको मृत्यु भएको छ भने ५५ जना घाइते छन् । यसैगरी रुकुम पश्चिममा ३७ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन् ।
गए राति ११:४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडामा केन्द्र विन्दु बनाई ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी घाइते तथा वेपत्ता भएकाको उद्धार र खोजी कार्यलाई तीव्र पारिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
अहिले भूकम्प प्रभावित क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ । भूकम्पमा परी घाइते भएकालाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट सूर्खेतस्थित प्रदेश अस्पताल ल्याइएको छ।