दुर्गाथली गाउँपालिका–७ बाँझगाडाका मोहनलाल कडायतलाई आफ्नै जीवनकालमा गाडी चढेर घरमै पुगौँला भन्ने लागेको थिएन । नुन, खाद्यान्न किन्नका लागि महिना दिनसम्म पैदलै नेपालका विभिन्न बजारदेखि भारतका विभिन्न सहर पुगेको अनुभव कडायतलाई अझै ताजा छ । उहाँले दैनिक उपभोग्यमा सामान गाडीमार्फत घर पुर्याउँला, घरमा उत्पादन भएको गाईभैँसीको दूध, दही घिउ तथा तरकारी र फलफूल बिक्री गरेर आम्दानी गरौँला भन्ने सोच्नु पनि भएको थिएन । तर अहिले कडायतको घरअघि नै सडक पुगेको छ । दैनिक गाडी ओहोरदोहोर गरिरहेका हुन्छन् । अहिले उहाँलाई नुन र खाद्यान्न घरमा ल्याउन महिना दिन लाग्दैन, उहाँ २ घण्टामै बजार पुगेर सामान घर ल्याउनु हुन्छ ।
सडक सञ्जालसँग जोडिएपछि यहाँका दुर्गम बस्ती अहिले सुगम बनेका छन् । यहाँका बासिन्दाले २०७४ सालसम्म पनि १ पोका नुन लिनका लागि २ दिन हिँड्नुपर्ने बाध्यता थियो । सडकले छोएसँगै अहिले धेरै सजिलो भएको छ । सदरमुकाम तथा अन्य बजार जान पनि यही बाटो भएर जानुपर्ने हुन्छ । जसले गर्दा यहाँ गाडीको चहलपहल निकै बढेको छ ।
यस्तै दुर्गाथलीको सबैभन्दा विकट चुवाबन पनि सडक सञ्जालसँग जोडिएको छ । यसअघि १ दिनअघि नै मौरीबगर बजार पुगेर सामान तयार गरी भोलिपल्ट फर्किने गरेका यहाँका बासिन्दा सडक पुगेपछि बजार पुगेर २ घण्टामै घर फर्किने गरेका छन् । चुवाबनका नागरिकले आफ्नो गाउँमा भएको सिमी, जौ, आलु, चोतो ९गान्टे मुला० बेचेर आम्दानी गरौँला भनेर सोचेका थिएनन् । तर पालिकाले झन्डै १ करोड ५० लाख रुपैयाँको लागतमा सडक बनाएपछि अहिले यहाँका नागरिकले यही सिमी, जौ, आलु, गान्टे मुला लगायतका तरकारी बेचेर आम्दानी गरिरहेका दुर्गाथली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झलक दौल्यालले बताउनुभयो ।
‘सडक सञ्जालसँग जोडिएपछि दुर्गम बस्ती सुगम बन्न थालेका छन् । यहाँका नागरिकले आफ्नो खेतबारीमा उत्पादन भएका तरकारी बेचेर आम्दानी गरिरहेका छन्’, प्रमुख प्रशासकीय अधिकृत दौल्यालले भन्नुभयो ।
अब दुर्गाथली–३ को रकैल सडक सञ्जालसँग जोडिन बाँकी रहेको गाउँपालिकाका अध्यक्ष दिलबहादुर थापाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘दुर्गाथली गाउँपालिकाभरि दर्जनभन्दा बढी ठाउँमा सडक बनेको छ । यी सडकको स्तरोन्नित गर्नका लागि पालिकाले १ करोड ११ लाख रुपैयाँको लागतमा एक्स्काभेटर किनिसकेको छ । केही सडक प्रदेश सरकारको लगानीमा बनेको छ ।’