काठमाडौं महानगरपालिकाले सुर्तिजन्य पदार्थमाथि प्रतिबन्ध कार्यान्वयन गर्न पहिलो चरणमा ५० जना नगर प्रहरी परिचालन गर्ने भएको छ ।
आज पत्रकार सम्मेलन गर्दै महानगरका प्रवक्ता नवीन मानन्धरले महानगरका विभिन्न ४ क्षेत्रमा १० जनाको दरले प्रहरी परिचालन गर्ने र सादा पोसाकका प्रहरीले समेत अनुगमन गर्ने जानकारी दिएको छ । पछि आवश्यकता अनुसार थप नगर प्रहरी परिचालन गर्ने महानगरले जनाएको छ ।
कसैले यसविरुद्ध गइ सुर्ति बेचबिखन गरे नगर प्रहरीलाई यसबारे सूचना दिनसमेत आग्रह गरेको छ । महानगरको जनस्वास्थ्य ऐन २०८० को दफा ४२, सुर्तिजन्य पदार्थ निरुपण तथा नियमन ऐन २०६८ को दफा बमोजिम यस्तो प्रतिबन्ध लगाइएको जानकारी दिएको हो ।
महानगरले जनस्वास्थ्यमा परेको प्रतिकूल प्रभाव रोक्न, शहरी सौन्दर्यता कायम राख्न र भूमि तथा वातावरणीय असर न्यूनीकरण गर्नका लागि सुर्तिजन्य पदार्थमाथि प्रतिबन्ध लगाएको स्पष्ट पारेको छ ।
महानगरले मंसिर २८ गतेदेखि सुर्ति सेवनका निम्ति उत्पादित कच्चा सुर्ति, खैनी, गुट्खा, सुर्तिमाथि प्रतिबन्ध लगाउने जनाएको छ । साथै सोही दिनबाट सार्वजनिक स्थलको एक सय मिटर अवरीपरी धुम्रपान गर्नसमेत प्रतिबन्ध लगाइएको छ ।
महानगरले यस निर्णय कार्यान्वयनका लागि हरेक पसलमा अनुगमन गर्ने र सुर्तिजन्य पदार्थ बेचेको पाइएमा दुई पटकसम्म जफत गरिने र तेस्रो पटक पसल नै बन्दे गर्ने महानगरले जनाएको छ । सार्वजनिक स्थलमा धुम्रपान गरेमा त्यहाँबाट निकालिने र एक सय रुपैयाँसम्म जरिवाना तिराइने पनि महानगरले जानकारी दिएको छ ।