जोडिनुहोस
  • होमपेज
  • राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाका लागि बृहत मोर्चा बनाउने कमल थापाको प्रस्ताव

राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाका लागि बृहत मोर्चा बनाउने कमल थापाको प्रस्ताव

राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय गणतन्त्रको अन्त्य र राजसंस्था तथा हिन्दुराष्ट्र पुनर्स्थापनाका लागि बृहत राष्ट्रिय मोर्चा बनाउने प्रस्ताव गरेका छन् ।

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिमा राजनीतिक प्रतिवेदन पेश गर्दै उनले अहिले संघीय गणतन्त्रको नाउँमा भ्रष्ट व्यवस्था कायम रहेकाले यसको अन्त चाहने, राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापना गर्न चाहने र सुशासनको माध्यमबाट आर्थिक समृद्धि चाहनेहरुबीच एकता, सहकार्य, कार्यगत एकताका साथै ‘वृहत राष्ट्रिय मोर्चा’ बनाउनु आबश्यक रहेको बताएका हुन् ।

‘वर्तमान व्यवस्थामा गरिने परिवर्तनको मुलभूत मर्म र विषयमा सहमत रहने दल, समुह र पक्षको सहमतिको आधारमा ‘वृहत राष्ट्रिय मोर्चा’ले साझा माग र साझा कार्यक्रम निर्धारण गर्नेछ’ थापाले भनेका छन् ।

मोर्चाको नेतृत्व कसले गर्ने भन्ने महत्वपूर्ण नहुने भन्दै थापाले व्यक्तिगत वा पार्टीगत स्वार्थ भन्दा माथि उठेर सामूहिक नेतृत्व र सबैको सहभागिताको आधारमा मोर्चाको निर्माण र कार्यान्वयन हुने बताएका छन् ।

‘मोर्चा निर्माणको अवधारणामा सहमत भए सँगै मोर्चाको संरचना, निर्णय पद्दति, साधनश्रोतको परिचालन, कार्यक्रमको निर्धारण, ‘चेन अफ कमाण्ड’ लगायतका विषयमा आबश्यक कार्यविधि तथा कार्यविभाजन तयार गरिनुपर्दछ’ उनले भनेका छन् ।

थापाले ‘वृहत राष्ट्रिय मोर्चा’ निर्माणको निमित्त राप्रपा नेपालले सम्बद्ध सबै पक्षसँग तत्काल वार्ता आरम्भ गर्ने बताएका छन् । थापाले संघीय गणतान्त्रिक व्यवस्था परिवर्तनका लागि आन्दोलन पनि गर्ने बताएका छन् ।

अहिलेको व्यवस्था असफल भएकाले त्यसको विकल्पमा संवर्द्धनवाद उपयुक्त हुने भन्दै थापाले त्यसका लागि प्रमुख राजनीतिक दलसँग सहमति सहकार्य र सर्वपक्षीय सम्मेलनलाई विकल्पको रुपमा अघि सारेका छन् । तर अहिलेको राजनीतिक दलहरुले यो विकल्प नमान्ने भन्दै व्यवस्था परिवर्तनका लागि आन्दोलन नै अन्तिम विकल्प भएको जिकिर गरेका छन् ।

‘उनीहरुले भ्रष्टाचार गरेर आर्जन गरेको अकुत सम्पति र राज्यसंयन्त्र कब्जा गरेर तयार गरेको शक्तिको बलमा पटकपटक चुनाव जितेर आफ्नो वर्चस्व सुरक्षित गरी राख्ने ‘चक्रव्युह’ खडा गरेका छन् । सामान्य तरिकाबाट वा विद्यमान ‘खेलको नियम’ परिवर्तन नगरी यो चक्रव्युह तोड्न सकिने अवस्था देखिन्न’ थापाले भनेका छन् । जनआन्दोलन पनि जनअभिमत व्यक्त गर्ने तथा जनचाहना अनुरुपको परिवर्तन संस्थागत गर्ने प्रभावकारी, सशक्त र वैध प्रक्रिया भएको उनले बताएका छन् ।

आन्दोलनको कार्यक्रम अन्तर्गत राप्रपा नेपालले मेची महाकाली जागरण यात्रा, युवदस्ताको तयारी, प्रत्येक अञ्चलमा सभा र प्रदर्शन, राजधानी केन्द्रित प्रदर्शन आदि गर्ने उल्लेख गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?