रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको बहुप्रतीक्षित पत्रकार सम्मेलनभन्दा केही घन्टाअघि राजधानीतर्फ आइरहेका नौ युक्रेनी ड्रोनलाई आफ्नो हवाई रक्षा प्रणालीले खसाएको रुसले बताएको छ ।
सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि आक्रमण सुरु गरेपछि पुटिनले यस वर्षको अन्त्यमा आफ्नो पहिलो पत्रकार सम्मेलन आयोजना गर्नुअघि हमला भएको बताइएको छ । रक्षा मन्त्रालयले हमलाका लागि किएभलाई दोष दिँदै एक विज्ञप्तिमा भनेको छ, ‘अन–ड्युटी हवाई रक्षा एकाइहरूले कलुगा र मस्को क्षेत्रमा नौ युक्रेनी युएभी मानवरहीत हवाई वाहन लाई नष्ट गरेर रोकेको छ ।’
मस्कोका मेयर सर्गेई सोबयानिनले एउटा ड्रोनलाई रुसी राजधानीको दक्षिणपश्चिमी सहर नारो–फोमिन्स्क नजिकै खसालिएको बताए । ‘प्रारम्भिक आँकडाअनुसार जुन स्थानमा ड्रोन खसेको छ त्यहाँ कुनै क्षति वा हताहत भएको छैन’, उनले भने । घटनास्थलमा आपतकालीन सेवाहरूले काम गरिरहेको उनले जानकारी दिएका छन् । मस्कोसँग गुमाएका क्षेत्रहरू फिर्ता गर्ने नयाँ प्रयास सुरु गरेसँगै युक्रेनले गर्मीयामपछि निरन्तररूपमा ड्रोनमार्फत रुसमा हमला गरेको छ ।