जोडिनुहोस
  • होमपेज
  • वीरले करारमा राखेका १३ मध्ये १० कर्मचारी मन्त्रीको जिल्लाका

वीरले करारमा राखेका १३ मध्ये १० कर्मचारी मन्त्रीको जिल्लाका

वीर अस्पतालले कार्यविधि विपरीत करारमा कर्मचारी राखेको पाइएको छ । यसरी राखिएका १३ जना कर्मचारीमध्ये १० जना स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको गृहजिल्ला सिन्धुपाल्चोकका छन् ।

वीर अस्पताल प्रशासनले १० कात्तिकमा सातौं तहको १ जना मेडिकल ल्याब, पाँचौ तहका ल्याब टेक्निसियन ५ जना, इलेक्ट्रिसियन चौथो तहका २ जना, पलम्बर चौथो तहको १ जना, चौथो तहकै लिफ्ट असिस्टेन्ट ४ जना गरी १३ जना जनशक्ति करारमा राख्ने निर्णय गरेको थियो । तर ‘चिकित्सक वा स्वास्थ्यकर्मी करार सेवामा व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि–२०७६’ विपरीत १७ कात्तिकमै सबै कर्मचारी भर्ना गरेको पाइएको छ । करार सेवा व्यवस्थापनसम्बन्धी कार्यविधिमा करारमा जनशक्ति पदपूर्ति गर्दा न्यूनतम २१ दिनको सूचना प्रकाशन गरी इच्छुक उम्मेदवारबाट दरखास्त आह्वान गर्नुपर्ने व्यवस्था छ ।

तर एक हप्ताको सूचना निकालियो, जुन दरखास्त बुझाउने अन्तिम दिन १७ गते केही समय मात्रै सर्जिकल भवनमा टाँसिएको थियो । ‘सार्वजनिक रुपमा जानकारी नदिई केहीबेर टाँसिएको जस्तो मात्रै गरियो’ वीर अस्पतालका एक अधिकारी भन्छन् । १९ गते कर्मचारी छनोटको लिस्ट सार्वजनिक भयो ।  प्राप्त विवरण अनुसार करारमा राखिएका १३ जनामध्ये १० जना सिन्धुपाल्चोक जिल्लाका छन् ।

चौथो तहको लिफ्ट असिस्टेन्टमा सिन्धुपाल्चोक बाह्रबिसेका दिपेन्द्र बस्नेत, सन्तोष बस्नेत, पाँचपोखरी थाङपालकी विमला अधिकारी, लिसंखु पाखरकी अन्जली तामाङलाई नियुक्त गरेका छन् । यसैगरी चौथो तह इलेक्ट्रिसियनमा मेलम्ची सिन्धुपाल्चोकका अरुण सापकोटा र सन्तोष दाहाल, पाँचौ तहको ल्याब टेक्निसियनमा मेलम्चीकी रस्मीता मिश्र, रुद्रमतीकी प्रमिला आचार्य, बाह्रबिसेका सन्तोष राउत छन् ।

सातौं तहको मेडिकल ल्याब टेक्निसियनमा बाह्रबिसे सिन्धुपाल्चोककै स्मीता थापा नियुक्त भएकी छन् । करारमा राखिएका १३ मध्ये तीन जना मात्र अरु जिल्लाका परेका छन् । पाँचौ तह ल्याब टेक्निसियनमा दुधौली सिन्धुलीकी प्रमिला श्रेष्ठ र रसुवाकी स्मृति देवकोटा तथा पाँचौ तह पलम्बर पदमा बनेपा, काभ्रेका सुरेन्द्र दंगाललाई करारमा राखिएको छ ।

करार कर्मचारी छनोट समितिमा अस्पतालका निमित्त निर्देशक डा श्रवण थापा संयोजक थिए । तर स्वास्थ्यमन्त्री बस्नेतले दबाबमा उनीहरुलाई नियुक्ति दिइएको स्रोतको दाबी छ । त्यसक्रममा फर्म तथा शुल्क लिएर राजस्व समेत दाखिला नगरेको पाइएको अस्पताल स्रोतले जनाएको छ । वीर अस्पतालले १ मंसिरमा मेडिकल अधिकृत ३० र स्टाफ नर्स २६ जना माग गरेको छ । ‘मन्त्रालयबाट लिस्ट आए अनुसार प्रशासनका कर्मचारीले फाइल तयार गरिरहेका छन्’ वीरका एक पदाधिकारीले भने, ‘डाक्टरको अन्तवार्ताको काम भइरहेको छ ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका