जोडिनुहोस
  • होमपेज
  • एमालेको ‘सङ्कल्प यात्रा’ को उपलब्धि सार्वजनिक

एमालेको ‘सङ्कल्प यात्रा’ को उपलब्धि सार्वजनिक

नेकपा एमालेले मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित आफ्नो ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ को उपलब्धि सार्वजनिक गरेको छ । बैतडीको झुलाघाटबाट गएको मङ्सिर १४ गते शुरु भएको सङ्कल्प यात्रा यही पुस १ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समापन भएको थियो ।

केन्द्रीय कार्यालय च्यासलमा आज आइतवार आयोजित पत्रकार सम्मेलनमा एमालेले यात्राले पार्टी, कार्यकर्ता र स्थानीय नागरिकमा उत्साह देखिनुका साथै विकास, समृद्धि तथा राष्ट्रियतालाई जोड्न महत्त्वपूर्ण उपलब्धि हासिल गरेको जनाएको छ ।

पार्टीका अध्यक्ष केपी शर्मा ओलीले यात्रा असाधारण र अविस्मरणीय भएको बताउँदै मध्यपहाडी क्षेत्रको विकास र समृद्धिमा प्राथमिकता दिन सरकारसँग माग गर्नुभयो । ‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’को मर्म एवम् भावनाअनुरूप यो अभियानका क्रममा जनसभा, जनभेला तथा भेटघाट, कलेज तथा विद्यालयका विद्यार्थीसँग छलफल भएको पार्टीले जनाएको छ ।

साथै एमालेले स्थानीय किसानसँग अन्तरक्रिया, कृषि वैज्ञानिकसँग संवाद, विकासका कामको अवलोकन र नमुना काम गरिरहेका उद्यमीसँग भेटघाट, ऐतिहासिक, धार्मिक र सांस्कृतिक स्थलको अवलोकन, नागरिकका अनुभूति, गुनासो र सुझाव सङ्कलन गरेको छ ।

अभियानका क्रममा पहाडबाट भइरहेको तीव्र बसाइँसराइको पहिचान र समाधानको खोजी, सामाजिक सद्भाव र राष्ट्रिय एकताको प्रवर्द्धनमा सहयोग, मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटनलगायतका सम्भावना बुझ्न सहयोग मिलेको एमालेका महासचिव शङ्कर पोखरेलले बताउनुभयो ।

सङ्कल्प यात्रामा एमालेका शीर्ष नेतृत्व, केन्द्रीय पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय सदस्य तथा प्राविधिक टोलीको सहभागिता थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका