काठमाडौं । नेपाली सांगीतिक जगतका एक मूर्धन्य गायक योगेश वैद्यको निधन भएको छ । गए राति ७७ वर्षको उमेरमा उनको निधन भएको हो ।
काठमाडौंको न्यूरो अस्पतालमा उपचारका क्रममा उनको निधन भएको छोरी लभ्लिना वैद्यले जानकारी दिएकी छन् । भर्खरै मात्र उनलाई गंकी बसुन्धरा प्रतिष्ठानबाट प्रतिष्ठित ‘धुंस्वां सायमी सिरपाः ’ प्रदान गरिएको थियो । त्यस कार्यक्रममा भने उनी आफैं उपस्थिति हुन सकेका थिएनन् । तर भिडियो सन्देश भने दिएका थिए ।
उनी नेपाली र नेपाल भाषाका प्रतिष्ठित गायक र संगीतकार हुन् । नेपालीमा ‘सपना भुलाई सारा आँशु लिएर जाउ’, ‘मेरो आँशुमा नहाँसे’ र ‘नेपाल मेरो उपहार भो’ लोकप्रिय छन् । यस्तै नेपाल भाषामा ‘जय नमो सिरि बुद्ध भगवान’ र ‘जिमि यःम्ह थौ जिथाय् वइ’ लोकप्रिय छन् । १२ वर्ष ९ महिनामै एसएलसी गरी त्रिचन्द्र कलेजबाट बीएस्सी डिग्री पाएका योगेश थाहै नपाई रेडियो नेपाल पुगेका थिए ।
इन्द्रनारायण मानन्धरले मोटरसाइकलमा रेडियो नेपाल पुर्याए । रेडियोमा निर्देशक भोग्यप्रसाद शाहलगायत थुप्रै कलाकारसामु उनले दुई दर्जन गीत सुनाए । मोहम्मद रफी, तलत महमुदलगायतको । सबैले तारिफ गरे । उनको स्वरपरीक्षा त्यही भयो । किरण खरेलको शब्द र नातिकाजीको संगीतमा योगेशको पहिलो गीत रेकर्ड भयो, ‘कति प्यासी छ जिन्दगी‘’ ०२२ मा । त्यसपछि एउटा नेवारी गीत पनि गाए, ‘जीवन जिगु‘’ । एमएस्सी पढ्दा केही समय गाएनन् । त्यसपछि रत्न रेकर्डिङ संस्थानमा एकै पटक चार वटा गीत डिस्क रेकर्ड गराए । कति प्यासी।। सहित नित्य नयनमा तारा, प्रेमको अधुरो कहानी‘ ।
वनस्पतिशास्त्रमा एमएस्सी गरेपछि लोकसेवा आयोग दिएर प्रथम भएका थिए योगेश । करिब ३३ वर्ष सरकारी जागिर खाएका योगेश ०६१ मा सहसचिव पदबाट अवकाश लिएका थिए । उनले बेल्जियमको गेन्टको स्टेट युनिभर्सिटीबाट पनि फुड एन्ड न्युट्रेसनमा स्नातकोत्तर गरेका थिए । शुक्रबार पशुपतिमा उनको अन्तिम संस्कार गरिने परिवारले जनाएको छ । उनका दुई छोरी र एक छोरा छन् ।