सर्वोच्च अदालतले स्वास्थ्य सेवाको अधिकृतस्तरको कर्मचारीको सेवा प्रवेश उमेर हद ४५ वर्ष कायम गर्न सरकारको नाममा अन्तरिम आदेश दिएको छ । बिहीबार नेपाल मेडिकल एसोसिएसन एनएमएले नेपाल सरकारलाई विपक्षी बनाएर हालेको रिटमा फैसला गर्दै सर्वोच्चले सो आदेश जारी गरेको हो ।
न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले सरकारका नाममा अन्तरिम आदेश दिनुका साथै कारण देखाउ आदेशसमेत दिएको छ । स्वास्थ्य सेवा ऐन, २०५३ को दफा १२ मा स्वास्थ्यतर्फ अधिकृत तहको पदमा स्थायी नियुक्त हुन २१ वर्ष पूरा भएको र ४५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ ।
तर, पछिल्लो समय स्थानीय तह, प्रदेश सरकार र केही प्रतिष्ठानहरूले उम्मेदवारको उमेर हद ३५ वर्ष राखेर विज्ञापन गरिरहेका थिए । सो विज्ञापन ऐन विपरित भएको भन्दै संघ अदालत गएको महासचिव डा।सञ्जीव तिवारीले बताए ।