जोडिनुहोस
  • होमपेज
  • कपुरकोट गाउँपालिका तीन वर्षभित्र खरको छानामुक्त बन्ने

कपुरकोट गाउँपालिका तीन वर्षभित्र खरको छानामुक्त बन्ने

सल्यान – कपुरकोट गाउँपालिकाले खरको छानोमुक्त गाउँपालिका अभियान अघि बढाएको छ। रकम अभावका कारण खरको छानामुनि जीवन बिताइरहेका नागरिकलाई गाउँपालिकाले जस्तापाता दिन थालेको हो।

सुरक्षित नागरिक आवास कार्यक्रमसँग जोडेर गाउँपालिकाले आर्थिक वर्ष २०८०।०८१ मा खरले छाएका २०० वटा घरमा रंगीन जस्तापाता लगाउने भएको हो। संघीय सरकारको बजेटमा ११८ घर र पालिकाको बजेटमा ८२ घरमा जस्तापाता लगाउने प्रमुख प्रशासकीय अधिकृत भरतकुमार वलीले जानकारी दिए।

१५ दिने सार्वजनिक सूचना मार्फत खरको छानामुक्त गाउँपालिका कार्यक्रममा परेका निवेदन अनुसार प्राथामिकताका आधारमा दलित, विपन्न तथा एकल महिलाको खरले छाएको घरमा जस्ता पाता लगाउन लागेको जनाएको छ। यो आर्थिक वर्षमा पालिकाभित्र रहेका वडा १,२,३ र ४ मा २०–२० घर तथा वडा नम्बर ५ र ६ मा ४०–४० घरमा जस्तापाता लगाइने छ।

गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले जस्तापाता लगायत सम्पूर्ण घर फिटिङका सामग्री खरिदका लागि ५० हजार दिने बताए । ३ वर्षमा खरको छानामुक्त पालिका बनाउने उनको योजना छ।

‘हावाहुरी चलेका बेला छानो उडाउने, वर्षामा पानी चुहिने, सजिलै गल्ने र आगोबाट सजिलै जल्न सक्ने खतरा रहन्छ’, उनले भने, ‘पालिकबासीलाई सुरक्षित बसोबास गराउन यो अभियान कार्यक्रम ल्याएको हो’, उनले भने। गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले खरको छानामुक्त आवासका लागि वडास्तरमा सम्झौता भइरहेको बताए।

गाउँपालिकाले यो वर्ष एक करोड रुपैयाँबाट यो अभियान शुरु गरेको हो। दुई करोड ४८ लाख ५० हजार बजेटको लागतमा तीन वर्षभित्र पालिकामा रहेका ४९७ घरमा खरको छानामुक्त अभियान सञ्चालन गर्ने भण्डारीको भनाइ छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका