नेकपा एमालेले शनिबारबाट ललितपुरमा सुरु हुने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकको तयारी पूरा भएको जनाएको छ । शुक्रबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै एमालेले ललितपुरको गोदावरीस्थीत सनराईज सभाहलमा हुने सम्मेलनको तयारी पुरा भएको जनाएको हो ।
बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्हरू दुई हजार ७३ जना, केन्द्रीय कमिटी, केन्द्रीय निकायमा मनोनयन गरिएका परिषद् बाहेकका ३ सय ८१ जना आयोजक कमिटी सहित २ हजार ४ सय ५४ जना सहभागी हुने एमालेले जनाएको छ ।
दुई दिनसम्म चल्ने बैठकमा विभिन्न प्रतिवेदन पेश हुने एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए । प्रथम विधान अधिवेशन र दशौं राष्ट्रिय महाधिवेशनपछि हुन गइरहेको प्रतिनिधि परिषद्को बैठक वैधानिक हिसाबले सबैभन्दा ठूलो औपचारिक फोरम भएको बताए ।
बैठकमा एमालेका विभिन्न अभियानको समीक्षा हुने र मिसन ८४ को तयारीका लागि बैठकमार्फत सुझाव संकलन गरिने पोखरेलले बताए । त्यस्तै पोखरेलले लोकतन्त्रलाई संस्थागत गर्ने प्रश्नमा सत्ता र प्रतिपक्ष सबैसँग मिलेर काम गर्न तयार रहेको बताए ।
उनले अहिलेको अवस्थामा मुलुकलाई सही बाटोमा अघि बढाउन एमालेको ध्यान रहेको धारणा राखे । प्रतिनिधि परिषद्को बैठकपछि वैशाख १० गते एमालेले नेकपा स्थापनाको हिरक महोत्सव पनि मनाउने जनाएको छ । उक्त कार्यक्रममा अध्यक्ष केपी ओलीका साथै प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेर बहादुर देउवा लगायतले सम्बोधन गर्ने एमालेले जनाएको छ ।