जोडिनुहोस
  • होमपेज
  • प्यालेस्टाइनलाई संयुक्त राष्ट्रसंघको पूर्ण सदस्य बन्नको लागि समर्थन गर्ने प्रस्ताव महासभाबाट पारित

प्यालेस्टाइनलाई संयुक्त राष्ट्रसंघको पूर्ण सदस्य बन्नको लागि समर्थन गर्ने प्रस्ताव महासभाबाट पारित

संयुक्त राष्ट्रसंघको महासभाले प्यालेस्टाइनलाई पूर्ण सदस्य बन्नको लागि समर्थन गर्ने प्रस्ताव पारित गरेको छ । प्रस्तावको पक्षमा एक सय ४३ वटा देशले मतदान गरेका छन् । इजरायल र अमेरिकासहित नौ वटा देशले विपक्षमा मतदान गरेका छन् भने २५ वटा देश तटस्थ बसेका छन् ।

पारित भएको प्रस्तावमा भनिएको छ, ‘प्यालेस्टाइन राज्यलाई संयुक्त राष्ट्रसंघको सदस्यत स्वीकार गरिनुपर्छ र यस विषयमा सकारात्मक पुनर्विचार गर्न सुरक्षा परिषद्समक्ष सिफारिस गरिन्छ ।’ महासभाले प्यालेस्टाइनलाई पूर्ण सदस्य बनाउने प्रस्ताव पारित गरे पनि लागू गर्नको लागि भने यसलाई सुरक्षा परिषद्ले पारित गर्नुपर्छ ।

सुरक्षा परिषद्मा अमेरिकाले यसअघि नै भिटो प्रयोग गरेर पूर्ण सदस्य बन्न रोकेको थियो । प्यालेस्टाइनका राष्ट्रपति मोहम्मद अब्बासले खुसी व्यक्त गर्दै अब सुरक्षा परिषद्मा पनि प्रस्ताव पारित हुनुपर्ने बताउनुभयो ।

यस्तै साउदी अरेबियाले बहुमत देशहको इच्छाअनुसार प्यालेस्टाइनलाई संयुक्त राष्ट्रसंघको पूर्ण सदस्यता दिएर मध्यपूर्वको विवाद कम गर्नुपर्ने बताएको छ । ‘अन्तर्राष्ट्रिय समुदायले सत्यलाई पुनः स्थापित गर्ने समय आएको छ किनकि दशकौंदेखि प्यालेस्टाइनका नागरिकले भोगेको पीडालाई बेवास्ता गर्न मिल्दैन,’ साउदीले भनेको छ ।

गएको अप्रिल १८ तारिखमा भएको सुरक्षा परिषद्को मतदानमा प्यालेस्टाइनले १२ मतसहित संयुक्त राष्ट्रसंघको पूर्ण सदस्यताका लागि महत्वपूर्ण समर्थन प्राप्त गरेको थियो । तर संयुक्त राज्य अमेरिकाले प्रस्तावको विपक्षमा भिटो प्रयोग गरेपछि प्रस्ताव पारित भएको थिएन । प्यालेस्टाइनले सन् २०१२ देखि संयुक्त राष्ट्रसंघको गैर–सदस्य पर्यवेक्षक राज्यको हैसियत पाएको छ । गैर–सदस्य पर्यवेक्षक राज्यले पूर्ण सदस्यभन्दा कम केही अधिकार पाउँछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका