जोडिनुहोस
  • होमपेज
  • भाँगो र आलुसँग चामल साट्दै रमुवाका बासिन्दा

भाँगो र आलुसँग चामल साट्दै रमुवाका बासिन्दा

बागलुङ– बागलुङको उच्च पहाडी क्षेत्रमा पर्ने रमुवा गाउँ आलुखेतीका लागि प्रख्यात छ । गलकोट नगरपालिका–१० मा पर्ने यस गाउँमा आलु र भाँगोबाहेक अन्य बाली निकै कम लाग्ने भएकाले गाउँका सबै आलुखेतीमा व्यस्त छन् ।

आलुखेतीबाटै उक्त गाउँका स्थानीयले जीविकोपार्जन गर्दै आएका छन् । भौगोलिक विकटताका कारण आलु बजारसम्म लैजान पनि समस्या छ ।

उत्पादन भएको आलुलाई बजारीकरण गर्न सडक स्तरोन्नति हुनुपर्ने स्थानीयको माग छ । आलु र भाँगो एकै ठाउँमा उत्पादन गर्न सकिने हुँदा किसानले बढी लाभ लिएका छन् ।

दुर्गम गाउँ भए पनि रमुवामा २०६५ मा स्थानीयको लगानीमा सडक निर्माण भएको थियो । उक्त सडक हालसम्म पनि स्तरोन्नति हुनसकेको छैन ।

बजार क्षेत्रमा रासायनिक मल प्रयोग गरी उन्नत जातका आलुको उत्पादन हुने गरे पनि रमुवाका किसानले रैथाने जातका आलुखेतीमा प्राङ्गारिक मल प्रयोग गर्दै आएका छन् ।

पशुपालन र आलुखेती यहाँका स्थानीयको मुख्य पेसा हो । प्राङ्गारिक मलका कारण एकै परिवारले वार्षिक तीन हजारदेखि पाँच हजार क्विन्टलसम्म आलु उत्पादन गर्छन् ।

रमुवामा हरेक वर्ष ४० देखि ५० हजार क्विन्टल आलु उत्पादन हुने गरेको छ । यो गाउँमा करिब एक सय ३० परिवार स्थायी रूपमा बसोबास गर्दै आएका छन् । त्यसमध्ये अधिकांशले भेडाबाख्रा र गाईभैँसीपालन गर्ने हुँदा मलको कुनै समस्या छैन ।

गाउँमा खाद्यबाली उत्पादन कम हुँदा वर्षभरि खान पुग्दैन । त्यसले गर्दा भाँगो र आलुसँग चामल साटेर गुजारा चलाउनुपर्ने स्थिति छ । पालिकाको केन्द्र गलकोटसम्म पुग्ने सडक स्तरोन्नति भए आलु बजारीकरणमा कुनै समस्या नहुने गलकोट नगरपालिका–१० रमुवाका स्थानीयसमेत रहनुभएका पूर्वअध्यक्ष तिलक घर्तीमगरले बताए ।

रमुवामा उत्पादन हुने आलु गलकोट, बागलुङ, पोखरा, काठमाडौं, चितवनलगायतका ठाउँमा पुग्ने गर्छ । वर्षौँ पहिलेदेखि नै यहाँका नागरिक आलुखेतीमा लाग्दै आएका छन् ।

समुद्री सतहबाट दुई हजार दुई सय मिटरभन्दा माथिको उचाइमा रहेको रमुवामा धान, गहुँ भने उत्पादन हुँदैन । प्रविधिको विकास भए पनि आफूहरूले परम्परागत रूपमा प्राङ्गारिक आलु उत्पादन गर्ने स्थानीय दिव्या रानाले बताइन् ।

हरेक वर्ष एकै परिवार ५० देखि १०० मुरीसम्म आलु फलाउने उनको भनाइ छ । आलु फल्ने समयमा कुनै पनि रोगको प्रकोप नदेखिए हरेक वर्ष उत्पादन वृद्धि हुने राना बताउँछिन् । उनले आलुखेतीबाटै परिवारको लालनपाल, पढाइलेखाइदेखि जीविका चलाउने गरेको बताइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?