जोडिनुहोस
  • होमपेज
  • भारतमा आज १० राज्यका ९६ सिटका लागि मतदान हुँदै

भारतमा आज १० राज्यका ९६ सिटका लागि मतदान हुँदै

काठमाडौं – सात चरणमा हुन लागेको भारत लोकसभाको निर्वाचन अन्तर्गत सोमबार चौथो चरणको मतदान हुँदैछ। चौथो चरणमा आज १० राज्यका ९६ सिटका लागि मतदान हुन लागेको हो।

आज भारतको आंध्र प्रदेश, बिहार, झारखण्ड, मध्य प्रदेश, महाराष्ट्र, ओडिशा, तेलंगाना, उत्तर प्रदेश, पश्चिम बंगाल, जम्मू कश्मिरका ९६ सिटमा मतदान हुन लागेको हो।

सोमबार आंध्र प्रदेशका २५, बिहारका ५, झरखण्डका ४, मध्य प्रदेशका ८, महाराष्ट्रका ११, ओडिसाका ४, तेलंगानाका १७, उत्तर प्रदेशका १३, पश्चिम बंगलका ८, जम्मू–कश्मिरका १ सिटमा मतदान हुन लागेको हो।

पाँचौ चरणको मतदान मे २० तारिखमा हुनेछ। पाँचौ चरणमा ८ राज्यको ४९ सिटका लागि मतदान हुनेछ। छत्तीसगढ़, झारखण्ड, महाराष्ट्र, ओडिशा, उत्तर प्रेदश, पश्चिम बंगाल, जम्मू कश्मीर, लद्दाखका पाँचौ चरणको मतदान गर्ने भारतीय चुनाव आयोगको तयारी छ।

छैठौं चरणमा ७ राज्यका ५७ सिटका लागि मे २५ तारिखमा मतदान हुनेछ। बिहार, हरियाणा, झारखंड, ओडिशा, उत्तर प्रदेश, पश्चिम बंगाल र दिल्लीका ५७ सिटका लागि छैठौं चरणमा मतदान हुनेछ।

अन्तिम तथा सातौं चरणको मतदान जुन १ मा सम्पन्न हुनेछ। बिहार, हिमाचल, झारखंड, ओडिशा, पंजाब, उत्तर प्रदेश, पश्चिम बंगाल, चंडीगढ़ गरेर ८ राज्यका ५७ सिटका लागि अन्तिम चरणमा मतदान हुने तालिका रहेको छ।

अप्रिल १९, २६ र मे ७ मा गरेर तीन चरणको चुनाव सकिएको भारतमा अब चार चरणको चुनाव हुन बाँकी छ।

पहिलो चरणमा २१ राज्यका १०२ संसदीय सिट, दोस्रो चरणमा १३ राज्यका ८९ र तेस्रो चरणमा १२ राज्यको ९४ लोकसभा सिटका लागि मतदान भइसकेको छ।

पहिलो चरणमा ६६ दशमलव १४, दोस्रो चरणमा ६६ दशमलव ७१ र तेस्रो चरणमा ६५ प्रतिशत मतदान भएको भारतीय चुनाव आयोगको तथ्यांकमा उल्लेख छ।

पहिलोदेखि सातौं चरणसम्मका मतदान सम्पन्न भएपछि एकसाथ जुन ४ तारिखदेखि मतगणना सुरु हुनेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका