जोडिनुहोस
  • होमपेज
  • कोशीका मुख्यमन्त्रीलाई एकीकृत समाजवादीले पनि मत दिने

कोशीका मुख्यमन्त्रीलाई एकीकृत समाजवादीले पनि मत दिने

काठमाडौं– माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई विश्वासको मत दिने भएको छ ।

एकीकृत समाजवादी कोशी प्रदेश संसदीय दलको सोमबार बसेको बैठकबाट कार्कीलाई विश्वासको मत दिने निर्णय भएको हो । गत फागुन २१ गते बनेको केन्द्रीय सत्ता गठबन्धनमा फागुन २९ गते मिसिएको एकीकृत समाजवादीले कोशीमा पनि आफूलाई सत्ता पक्षमा उभ्याउने निर्णय गरेको हो ।

एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र कुमार राई यसअघि सरकारलाई विश्वासको मत नदिने अडानमा थिए । तर अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरूको निर्देशनपछि कार्की नेतृत्वको सरकारलाई विश्वासको मत दिन उनी तयार भएका हुन् ।

दलका नेता राईले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको भन्दै यसअघि कार्की सरकारलाई विश्वासको मत नदिने बताउँदै आएका थिए ।राईले सुदुरपश्चिमका मुख्यमन्त्री दिर्घ सोडारीलाई विश्वासको मत दिन एमालेले नमानेको भन्दै आफूले कार्की सरकारलाई नसघाउने बताइरहेका थिए । तर, आफू अप्ठेरोमा परेको भन्दै सोडारीले पनि कार्की नेतृत्वको सरकारलाई विश्वासको मत दिन राईलाई आग्रह गरेको बताइएको छ ।

एकीकृत समाजवादीसँगै कोशीमा जनता समाजवादीकी निर्मला लिम्बूले पनि विश्वासको मत दिने भएकी छन् । यसअघि गत वैशाख २७ गते कोशीमा कार्कीलाई मुख्यमन्त्री बनाउन एमालेका ३९ र नेकपा माओवादी केन्द्रका १३ सहित ५२ जना सांसदले समर्थन गरेका थिए । त्यसपछि लिम्बू पनि कार्कीको पक्षमा उभिएकी थिइन् ।एकीकृत समाजवादीको निर्णयसँगै कार्की पक्षमा एमालेका ३९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सहित ५७ जना सांसद भएका छन् । यहाँ बहुमतका लागि ४७ सांसद भए पुग्छ ।

संविधानको धारा १६८ (५) अनुसार नियुक्त भएका कार्कीलाई एमाले, माओवादी, एकीकृत समाजवादी र जसपाले विश्वासको मत दिँदा बलियो बहुमत मिलेको छ । कोशी प्रदेशमा एमालेका ३९, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपा नेपालका १ सांसद छन् । ९३ सदस्यीय प्रदेशसभामा बहुमतको लागि ४७ मत चाहिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका