जोडिनुहोस
  • होमपेज
  • शिक्षामा सीप कार्यक्रमले जीवनको रङ्ग पहिचान गर्ने क्षमता विकास भयो; बालेन शाह

शिक्षामा सीप कार्यक्रमले जीवनको रङ्ग पहिचान गर्ने क्षमता विकास भयो; बालेन शाह

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन  शाहले ‘चित्रकला’ र ‘मूर्तिकला’ बाट विद्यार्थीले सीपसँगै जीवनको रङ्ग पहिचान गरेको बताएका छन् । सामुदायिक विद्यालयका विद्यार्थीमा जीवनोपयोगी सीप र सिर्जनात्मक क्रियाकलाप देखिनु ‘शिक्षामा सीप’ कार्यक्रमको नतिजा रहेको प्रमुख शाहको भनाइ छ । कामपाले गत वैशाख १२ गतेदेखि सुरु गरेको ‘शिक्षामा सीप’ कार्यक्रमअन्तर्गत सामुदायिक विद्यालयका कक्षा ९ र १० का ‘स्केचिङ एण्ड स्कप्चर’ विषयका विद्यार्थीले कोरेका चित्र र बनाएका मूर्तिको अवलोकन गर्दै प्रमुख शाहले उक्त प्रतिक्रिया दिएका हुन् ।

उनले ‘विद्यालयमा सीप सिकेका विद्यार्थीलाई, एक वडा, एक उद्यम कार्यक्रमसँग जोड्न सकिने पनि बताए । उनले माटोका भाँडा बनाउने विद्यार्थीको सीपको प्रसङ्ग जोड्दै भने, “वडा नं ५ मा व्यावसायिक उत्पादनको तहमा पुगेको माटोका भाँडा बनाउने कार्यक्रमसँग जोड्न सकिन्छ ।” कामपा शिक्षा विभागले ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा यही वैशाख २८ गतेदेखि प्रतिष्ठानकै कक्षमा विद्यार्थीले बनाएका चित्र र मूर्ति प्रदर्शनी गरेको थियो । प्रदर्शनीमा ६२४ वटा चित्र र करिब करिब छ सय वटा मूर्ति राखिएका थिए । चित्रमा जनजीवन, पेसा, प्रकृति, जमिन, जनावर र चराचुरुङ्गीका चित्र थिए ।

मूर्तिकलामा धेरैजसो फूलदानी र बिर्को भएका भाँडाकुँडा थिए । बालबालिकाले घरमा खेलौनाका रूपमा प्रयोग गर्ने आकृतिमा बिरालो, मुसो, मृग, दैनिक जीवनमा आवश्यक पर्ने खाना बनाउने चुलो, तरकारी र खाना बनाउने भाँडा थिए ।कामपा सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाका अनुसार विद्यार्थीको सङ्ख्या, रुचि, विद्यालयको परिवेशजस्ता सूचकका आधारमा कक्षा ४ देखि ८ सम्मका विद्यार्थी समावेश गरेर एउटा विद्यालयमा एउटा बाल समूह र विभिन्न १५ वटा उपसमूह गठन गरिएका छन् ।

कक्षा ९ र १० का विद्यार्थीका लागि सञ्चालित ‘शिक्षामा सीप’ कार्यक्रमअन्तर्गत १० वटा विधा राखिएका थिए । उक्त विधामध्ये स्केचिङ् एण्ड स्कप्चर विषयमा ९० घण्टाको तालिमका क्रममा विद्यार्थीले बनाएका चित्र तथा आकृति कला प्रदर्शनमा थिए । यसमा विश्व निकेतन, रत्नराज्य, ज्ञानोदय, तरुण, गीतामाता, कन्या मन्दिर, सहिद शुक्र, पद्मकन्या विद्याश्रम र कोटेश्वर सरस्वती मावि गरी नौ वटा विद्यालयका १९ समूहका विद्यार्थीले बनाएका कला समावेश थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका