जोडिनुहोस
  • होमपेज
  • यातायात व्यवस्था विभागमा कार्यरत कर्मचारीहरू नै नक्कली लाइसेन्स बनाउने कार्यमा लागेपछि….

यातायात व्यवस्था विभागमा कार्यरत कर्मचारीहरू नै नक्कली लाइसेन्स बनाउने कार्यमा लागेपछि….

काठमाडौं । काठमाडौँको यातायात व्यवस्था विभागका  कार्यरत कर्मचारीहरूले नै नक्कली लाइसेन्स बनाउने कार्यमा संलग्न फेला परेपछि अनुसन्धान थालेको सिआईबीले गैरकानुनी कार्यमा लागेका व्यक्तिहरूलाई धमाधम  नियन्त्रणमा लिँदै आएको छ । नक्कली लाइसेन्स प्रकरणमा सीआईबीले शङ्का लागेपछि अनुसन्धान  अगाडी बढाएको थियो । २०८० असारमा शशाङ्क बस्यालले चलाएको कारले स्थायी ठेगाना स्याङ्जा भएका  पैदल यात्री कृष्णप्रसाद भट्टराईको घटनास्थलमै मृत्यु भएपछि  बस्याललाई नियन्त्रणमा लिएर सीआईबीले अनुसन्धान अगाडी बढाएको थियो ।

‘ दुर्घटनापछि बस्यालले ए’ र ‘बी’ वर्गको (मोटरसाइकल र कार) लाइसेन्स पेस गरेर छुटे । बस्यालसँग मोटरसाइकलको मात्रै लाइसेन्स रहेको र दुर्घटना भएपछि बिचौलियामार्फत लाइसेन्स खरिद गरिएको सूचना पाएको  सीआईबीले अनुसन्धानका क्रममा  ‘बी’ वर्गको लाइसेन्स भएका शिवपूजन मलाहलाई केही रकम दिएर उक्त लाइसेन्स बस्यालको नाम र ठेगानामा जारी भएको अनुसन्धानबाट पुष्टि गरेको छ ।

शिवपूजनको नम्बरको लाइसेन्समा  विवरण  बस्यालको राखेर यातायात कार्यालय बुटवलबाट १३ असार २०८० ‘ए’ र ‘बी’ वर्गको लाइसेन्स जारी भएको अनुसन्धानबाट पुष्टि भएको जनाइएको छ । बस्यालका लागि ‘बी’ वर्गको लाइसेन्स बनाउने मुख्य योजनाकार आइटी इन्जिनियर हरिश भट्ट रहेको सीआईबीले निष्कर्ष निकालेको छ । सीआईबीका अनुसार उक्त समूहले अन्य व्यक्तिको पनि नक्कली लाइसेन्स बनाएको छ ।

 सीआइबीले नक्कली लाइसेन्स बनाएर लाखौँ रकम  आर्जन गर्दै आएका ११ जनालाई नियन्त्रमा लिइसकेको छ। अहिले उनीहरु अनुसन्धानकै क्रममा हिरासतमा रहेका छन् । नक्कली लाइसेन्स प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुर्‍याएर प्रतिवेदन बुझाउने तयारी रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जनाएको छ ।

गत वर्षको साउनमा उद्धवप्रसाद रिजाल महानिर्देशक बनेपछि यातायात व्यवस्था विभागले नक्कली लाइसेन्स प्रकरणबारे छानबिन समिति गठन गरेर अनुसन्धानलाई अगाडी बढाइएको थियो  ।  विभागका उपसचिव रेग्मी नेतृत्वको समितिले १ लाखभन्दा बढी लाइसेन्स प्रक्रिया पुरा नगरी  जारी गरेको तथ्याङ्कले पुष्टि गरेको सिआईबीले जनाएको छ ।

 वैशाख १५ बाट सीआईबीले पक्राउ सुरु गरेको थियो । २५ वैशाखमा सीआईबीले सूर्यकुमार चौधरी, वसन्त पाण्डे,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत आइटी इन्जिनियर सुरजप्रकाश अर्याल र यातायात कार्यालय बुटवलमा करार इन्जिनियरको रूपमा कार्यरत हरिश भट्टलाई पक्राउ पक्राउ गरेको थियो ।

चौधरी पूर्वकर्मचारी हुन् भने पाण्डे बिचौलिया हुन् । यस्तै  बिहीबार काठमाडौँको यातायात व्यवस्था विभागमा कार्यरत कम्युटर अपरेटर दीपा न्यौपाने पक्राउ परेकी थिइन् यस्तै गत बुधबार इलाका प्रशासन कार्यालय सल्यानमा कार्यरत कम्युटर अपरेटर (नासु) गणेश भण्डारी पक्राउ परे ।  यस्तै यातायात कार्यालय बुटवलमा कार्यरत शाखा अधिकृत नारायण पाण्डेलाई

 पनि सीआईबीले नियन्त्रणमा लिएको छ ।  अर्याल, भट्ट र पाण्डे तीन कर्मचारी पक्राउ परेपछि नक्कली लाइसेन्स लिनेहरू लाजरस सुनुवार, प्रदीप सुनार, अजित मिश्र, मिलन बाँस्तोलालाई पनि सीआईबीले पक्राउ गरेको थियो ।

अहिलेसम्म शाखा अधिकृतसहित ५ बहालवाला कर्मचारी, १ पूर्वकर्मचारी, १ बिचौलिया र ४ नक्कली लाइसेन्स लिने गरी ११ जनालाई पक्राउ गरेर अनुसन्धान जारी राखेको सीआईबीले जनाएको छ । उनीहरूविरुद्ध लिखतसम्बन्धी कसुरमा सीआईबीले अनुसन्धान गरिरहेको छ । अनुसन्धान अन्तिम चरणमा पुगेकाले सम्भवतः आइतबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाउने तयारी सीआईबीको छ ।नक्कली लाइसेन्स बनाउनेमा उनीहरूको भूमिका देखिएपछि पक्राउ गरिएको सीआईबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटीले जानकारी दिए ।

 हिरासतमा रहेकामध्ये प्रदीप सुनारको नाममा एकान्त कुनामा विगत १० वर्षदेखि वेलकम ड्राइभिङ सेन्टरसमेत सञ्चालनमा रहेको छ । सुनारले हाल हिरासतमा रहेका यातायातका आइटी इन्जिनियर भट्टसँग मिलेर ड्राइभिङ सेन्टर खोलेको अनुसन्धानको निष्कर्ष रहेको छ  । करार आइटी इन्जिनियरको रूपमा १२ वर्षदेखि यातायात कार्यालयमा कार्यरत रहेका भट्टमार्फत नै विना ट्रायल नै लाइसेन्स उपलब्ध हुँदै आएको थियो ।

 यातायात व्यवस्था विभागका उपसचिव तथा आइटी विभागका प्रमुख मुकेश रेग्मी नेतृत्वको छानबिन समितिको प्रतिवेदनमाथि अर्को पनि अनुसन्धान थाल्ने सीआईबीको तयारी छ । प्रदेशहरूमा ट्रायल परीक्षा सञ्चालन नगर्ने, ट्रायलको मिति अगाडि–पछाडि गरिदिने र ट्रायल नै नदिई लाइसेन्स दिनेसम्मको काममा विभागको कमजोरी देखिएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका