जोडिनुहोस
  • होमपेज
  • संसदीय छानबिन समितिको कार्यादेश बनाउने कार्यदलको बैठक निष्कर्षविहीन

संसदीय छानबिन समितिको कार्यादेश बनाउने कार्यदलको बैठक निष्कर्षविहीन

काठमाडौं– सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन बनेको कार्यदलको बैठक बिना निष्कर्ष सकिएको छ ।

कानुन मन्त्री पदम गिरीको कार्यकक्षमा मंगलबार बिहान बसेको कार्यदलको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबारे आफ्नो अडान नछाडेको हो ।

बैठकमा सहभागी कांग्रेस सह-महामन्त्री जीवन परियारले सहकारीको बचत अपचलनमा मुछिएका गृहमन्त्री लामिछानेको नाम राखेर संसदीय समिति नबनाउने हो भने छानबिनको कुनै अर्थ नहुने बताए ।

‘गोरखा मिडिया नेट्वर्क र ग्यालेक्सी टेलिभिजका नामामा सहकारीको करोडौं पैसा अपचलन भएको कुरा प्रष्ट भइसकेको छ । त्यसमा गृहमन्त्री लामिछाने संलग्न रहेको कुरा आज पनि उठाएका छौँ’, उनले भने, ‘त्यसबारेमा थप छलफल गरेर अघि बढ्न सकिने गरी आज हामी उठेका छौँ । हामीले उठाएका विषयमा साझा सहमति जुटाउनेबारे छलफल भएको छ । फेरि बस्ने गरी हामी उठेका छौँ ।’

परियारका अनुसार गृहमन्त्री लामिछानेको नामसमेत उल्लेख गरेर छानबिन समिति नबनेसम्म संसद् बैठक पनि अघि नदिने पक्षमा कांग्रेस यथावत छ । ‘हामीले हाम्रो कुरा राखेका छौँ । जुन व्यक्तिकाबारेमा प्रतिपक्षी दलले सहकारीको रकम अपचलन भयो भनेर प्रश्न उठाएका छौँ, त्यसबारे छानबिन हुनुपर्छ । छानबिन नभए निष्कर्ष आउँदैन भनेका छौँ’, उनले भने । बैठकपछि कानुनमन्त्री पदम गिरीले अहिले जारी डेडलकको अवस्था अन्त्यको दिशामा छलफल अघि बढेको बताए ।

‘राजनीतिक दलका नेताहरूबीचमा छानबिन समिति बनाउनका लागि कार्यदेश निर्माणका सवालमा हामी कार्यदलका सदस्यहरू नजिक पुगेका छौँ, तर निष्कर्षमा पुगिसकेका छैनौँ’, उनले भने, ‘विकल्पहरूमा छलफल हुँदा सहमतिसहित कार्यदेश निर्माण गरिने तयारी छ । अर्को बैठकमा हामी निष्कर्षमा पुग्छौँ ।’ उनले कुनै व्यक्तिको नाममा भन्दा सहकारीको बचन हिनामिनाको विस्तृत छानबिन हुने बताए ।

‘छानबिनबाट सहकारीको रकम अपचलनमा संलग्नमाथि कारबाही गरिने छ । बचतकर्ताको बचत पनि सुरक्षित गरिने छ’, उनले भने, ‘सहकारीबाट त्यसको मूल्यमान्यताबाहिर गएर कसले कति पैसा लिएको छ ? आदि आज विषयमा कुरा भएको छ । त्यही आधारमा कार्यदेश बन्छ।’

कार्यदलका सदस्य एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले आज गम्भीर छलफल भएको बताउँदै यसलाई सहमतिमै टुंग्याउनुपर्छ भन्ने भएको उल्लेख गरे ।

‘शीर्ष नेताहरूले सहमतिमै मिलाउनुपर्छ भनेकाले हामी त्यही दिशामा छौँ । केही प्रस्तावमा छलफल भइरहेको छ, तीबारे मध्यमार्गी बाटो खोज्ने काम भइरहेको छ’, उनले भने, ‘हामीले स्पष्ट रुपमा हामी कार्यदल र छानबिन समितिमा बस्दा समस्या हुन्छ भने बस्दैनौँ भनेका छौँ । टीओआर बन्ने कुरामा अप्ठेरो हुन्छ भने म कार्यदलमा पनि बस्दिनँ भनेको छु ।’

उनले एउटा व्यक्तिलाई लक्षित गरेर अहिले नै दोषी करार गरिनु गलत भएको बताए । ‘हामी सुरुदेखि नै एउटा आरोपका आधारमा एउटा व्यक्तिलाई दोषी करार गरेर छानबिन समिति बन्नु हुँदैन भन्ने पक्षमा छौँ’, उनले भने, ‘आरोपकै आधारमा संसदीय समिति बन्नु हुँदैन भन्ने हाम्रो अडान छ । समस्या भएका विषयमा बनाउनुपर्छ भन्नेमा हामी छौँ । कांग्रेसले आरोपकै आधारमा संसदीय समिति बनाउनुपर्छ भनेको हामी त्यसविरूद्ध छौँ ।’

धेरै टिप्पणी गरिएका