जोडिनुहोस
  • होमपेज
  • गृहमन्त्री रविको अधिकांश सम्पत्ति पत्नीको नाममा

गृहमन्त्री रविको अधिकांश सम्पत्ति पत्नीको नाममा

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मंगलबार सार्वजनिक गरिएको विवरणअनुसार लामिछानेले आफ्नो नाममा भक्तपुरमा १ रोपनी १ आना जग्गा पैत्रिक सम्पत्तिस्वरुप रहेको उल्लेख गरेका छन् ।

लामिछानेका नाममा उक्त जग्गासँगै २ वटा बैंकका खातामा १ लाख १० हजार रुपैयाँ बचत रहेको देखाएका छन् । तर लामिछानेले भक्तपुरमा रहेको उक्त जग्गाको मूल्य भने खुलाएका छैनन् । लामिछानेले आफ्नो नाममा दुई वटा बैंक खाता रहेको खुलाएका छन् । उनले आफ्नो नाममा ग्लोबल आईएमई बैंकको पानीपोखरी शाखामा पारिश्रमिकबाट प्राप्त ५ हजार रुपैयाँ बचत रहेको खुलाएका छन् । त्यस्तै नेपाल बैंक लिमिटेड, नयाँबजार शाखामा १ लाख ५ हजार तलबबाट आएको बाँकी बचत रहेको पनि जनाएका छन्।

अरु सबै निकिताको नाममा

लामिछानेले यीबाहेक अरु सबै चलअचल सम्पत्ति श्रीमती निकिताको नाममा रहेको जनाएका छन् । उनले श्रीमतीलाई व्यवसायीका रुपमा देखाएका छन् । साथै श्रीमती निकिताले आफूसँग बिहे गर्दा ससुरालीबाटै पैत्रिक सम्पत्ति ल्याएको पनि उनले उल्लेख गरेका छन् ।

लामिछानेका अनुसार श्रीमती निकिता पौडेलको नाममा बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ८ मा ५ आना क्षेत्रफलमा ३ करोड ७५ लाखको घर रहेको छ ।

जुन घरको अझै १ करोड ५० लाख रुपैयाँ ऋण चुक्ता हुन बाँकी रहेको लामिछानेले जनाएका छन् । त्यो घर प्राप्तिको श्रोतका रुपमा ससुरीखलकले चलाएको गोपीकृष्ण इन्टरनेशनललाई देखाइएको छ । त्यसैगरि भाडा, नारी टीभी र ब्रान्ड इन्डोर्समेन्टबाट प्राप्त तलब र लाभांश रकमबाट उक्त घर निकिताले किनेको जिकिर लामिछानेको छ ।

लामिछानेका अनुसार गोपीकृष्ण प्रालिको सेयर पनि श्रीमती निकिता पौडेलको नाममा रहेको जनाएका छन् । निकिताको माइतीतर्फ सगोलमा काठमाडौं महानगरपालिका-७ स्थित १० रोपनी ८ आना जग्गाको २५ प्रतिशत सेयर पनि रहेको उनले जनाएका छन् ।

उक्त जग्गा पौडेल परिवारले पैतृक व्यापार व्यावसाय (गोपीकृष्ण मुभिज) को आम्दानीबाट कमाएको पनि लामिछानेले उल्लेख गरेका छन् ।

निकिताको चल सम्पत्ति

लामिछानेले निकिताले जोडेको नेक्लेस, सिक्री, लकेट, टप, ब्रासलेट, औंठी र बाला लगायत करिब ८० तोला सुन रहेको पनि उल्लेख गरेका छन् । निकिताले आफूसँग बिहे नगरेकै बेला केही सुन ५/७ वर्षअघि र अरु १०/१२ वर्षअघि जोडेको रविले उल्लेख गरेका छन् ।

त्यस्तै रविले आफ्नो सम्पत्तिका रुपमा चाँदीका भाँडाकुँडा १५ देखि २० केजी रहेको जनाएका छन् । त्यो पनि केही निकिताका आमाबुवाले दिएको र केही किनेको निकिताले किनेको सम्पत्ति भनिएको छ ।

बैंक खाता

निकिता पौडेलको नाममा सिद्धार्थ बैंक चाबहिलको खातामा नारी टीभीबाट प्राप्त पारिश्रमिक बचत ५ हजार बचत ।

निकिता पौडेलको नाममा नेपाल बैंक लिमिटेड चाबहिल शाखाको खातामा नारी टीभी र गोपीकृष्ण इन्टरटेन्मेन्टको ५ लाख बचत ।

निकिता पौडेलको नामामा सनराइज बैंकमा इभेन्ट म्यानेजमेन्टको १५ हजार बचत ।

निकिता पौडेलको नाममा एनआईएमबी बैंकमा २८ हजार नारी टीभी र इभेन्ट म्यानेजमेन्टको बचत ।

निकिता पौडेलकै नाममा प्रभु बैंकमा १० हजार ५११ युट्युबको आम्दानी बचत ।

सेयर बजार

निकिता पौडेलको नाममा गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्समा २५ प्रतिशत सेयर रहेको पनि लामिछानेले उल्लेख गरेका छन् ।

उक्त कम्पनीको ८ लाख ७५हजार कित्ता सेयरको मूल्य अहिले ८ करोड ७५ लाख रुपैयाँ बराबर हुने जनाइएको छ । त्यो सेयर पनि निकिताका माइतीतपर्फका पारिवारिक सगोलमा रहेको उल्लेख गरिएको छ ।

ऋण

लामिछानेले श्रीमती निकिता पौडेलको नाममा ४ वर्षपहिले घर कर्जास्वरुप लिएको १ करोड ५० लाख रुपैयाँ अझै तिर्न बाँकी रहेको जनाएका छन् ।

गाडी

लामिछानेले आफ्नो नाममा गाडी नरहेको जनाएका छन्। तर श्रीमती निकिता पौडेलको नाममा टाटा नेक्स ईभी कार रहेको उनले खुलाएका छन् । उक्त कार २०७९ मा ४२ लाख रुपैयाँमा किनेको जनाइएको छ । जससको श्रोत श्रीमती निकिताकै निजी आय र बचत भनिएको छ ।

अरु सम्पत्ति

रविले गोपीकृष्ण इन्टरनेशनल नारी टीभी प्रालि (हाल नारी टेलिभिजन) श्रीमती निकिता पौडेलको नाममा रहेको जनाएका छन् । जसको अहिलेको मूल्य करिब ३ करोड रुपैयाँ भनिएको छ ।

उता गोपीकृष्ण कामाक्ष्य मिडिया कम्पनी चाबहिललाई पनि सम्पत्तिका रुपमा देखाइएको छ । ६ वर्षअघि खुलेको उक्त कम्पनीको हालको मूल्य १ करोड रुपैयाँ भनिएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका