जोडिनुहोस
  • होमपेज
  • बंगालको खाडीमा चक्रवात, नेपालमा कस्तो असर पर्ला ?

बंगालको खाडीमा चक्रवात, नेपालमा कस्तो असर पर्ला ?

काठमाडौं । बंगालको खाडीमा न्यूनचापीय प्रणालीसँगै शक्तिशाली चक्रवात विकसित भएको छ । प्रि–मनसुन सिजनमा बंगालको खाडीमा उत्पन्न यो पहिलो चक्रवात हो ।

‘रेमल’ नाम दिइएको चक्रवातका कारण हुरी चल्नुका साथै अत्यधिक वर्षासमेत हुने छ । यसबाट भारत र बंगलादेशका केही जिल्ला प्रभावित हुनेछन् । मौसमविदहरुका अनुसार यो चक्रवात उत्तर–पूर्व–उत्तर हुँदै बहने छ । यसको असर नेपालमा पनि सामान्य पर्ने छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् चिरञ्जीवी भेटवालले रेमल चक्रवातको असर नेपालमा सीधा नपर्ने बताए । यसका बाहिरी घेराका केही बादल नेपालसम्म आउने भएकाले त्यसको असरले बादल लाग्ने र पानी पर्ने सम्भावना छ ।

मौसमविद भेटवालले अनलाइनखबरसँग भने, ‘रेमल चक्रवातको दिशा नर्थ–इस्ट–नर्थ छ । यो नेपालको पूर्वी भूभागभन्दा बाहिर–बाहिर भएर जान्छ ।’

उनले यसको असर नेपालमा खासै नपर्ने बताए । उनले भने, ‘कोशी प्रदेशको तराई भूभाग र मधेश प्रदेशमा सामान्य मात्र पर्ने छ । आजदेखि नै बादल लाग्न सुरु हुने छ तर ठूलो पानी भने पर्ने छैन ।’

उनका अनुसार सोमबार र मंगलबार यसको सामान्य प्रभाव नेपालमा देखिने र हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । मंगलबारदेखि नै प्रभाव कम हुँदै जाने उनले बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका