काठमाडौं- अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेटले देशभित्रै अवसर नखोजी विदेश जान सजिलो मान्ने युवाहरूमा आशा जगाउन मद्धत गर्ने बताएका छन् ।
नयाँ बजेटबारे जवाफ दिन मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री पुनले सरकार आर्थिक सुधार गर्नेतर्फ केन्द्रित हुने कोसिसमा रहेको बताए ।
‘यो बजेटले देशभित्र अवसर खोजी नगरी बााहिर जान सजिलो माान्ने युवाहरूमा आश जगाउन मद्धत गर्छ’, उनले भने, ‘व्यक्ति या नेता तथा मन्त्रालयको नेतृत्वको कमजोरी भन्दा पनि आशा जगाउने हुनुपर्छ । हामी आर्थिक सुधार गर्नेतर्फ केन्द्रित हुने कोसिस गरेका छौं ।’ पुनले अब देशलाई नयाँ चरणको सुधारबाट देशलाई गति दिन सकिने बताए । ‘नयाँ चरणको सुधारबाट मात्रै देशलाई गति दिन सक्छौं’, उनले भने, ‘विगतका नीतिको सीमासमेत विश्लेषण गरेर अघि बढ्ने योजनामा छौँ ।’
उनले निजी क्षेत्रलाई पनि फकाउने कोसिस गरे । ‘निजी क्षेत्रलाई साथमा लिएर नै अघि बढ्छु’, पुनले भने, ‘विमानस्थल, सडक, सिग्नेचर ब्रिजजस्ता पूर्वाधारमा अब निजी क्षेत्रलाई सहभागी गराउने हो।
पुनले तीव्र आर्थिक वृद्धिका लागि सरकार र निजीक्षेत्रको सहकार्यमा जोड दिए । ‘५/६ प्रतिशतभन्दा बढीको आर्थिक वृद्धि गर्न सरकारी लगानीमात्र पर्याप्त छैन’, उनले भने, ‘ठूला पूर्वाधार विकासमा हामी निजीक्षेत्रसँग मिलेर काम गर्छौँ।’