काठमाडौं-अर्थमन्त्रालयका रारजस्व सचिव राजन घिमिरेले देशमा आर्थिक गतिविधि बढाउन राजस्वका दरमा हेरफेर गरिएको बताएका छन्।
मंगलबार संसद्मा प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को बजेटबारे बुधबार मन्त्रालयमा आयोजित पत्रकारसँगको अन्तरक्रियामा उनले यस्तो बताएका हुन् । ‘आर्थिक गतिविधिलाई चलायमान गराउने गरी राजस्वदर चलाएका हौँ । राजस्व उठाउनेमात्रै उद्धेश्यले होइन’, उनले भने, ‘वैदेशिक लगानी भित्र्याउन र प्रवर्द्धन गर्ने नीति पनि लिएका छौँ । राजस्व दर वृद्धिभन्दा पनि दायरा वृद्धिलाई हेर्यौं ।’
उनले आलुप्याज र स्याउमा कर घटाउनुको कारणबारे पनि जवाफ दिएका छन् । ‘पहिले स्वदेशी कृषकलाई प्रोत्साहित गर्न बढाइएको थियो, तर तल्लो तहमै भार पर्यो’, उनले भने, ‘त्यसैले घटायौँ ।’
उनले हरित कर पनि अत्यन्त न्यून लगाइएको जवाफ दिए । ‘जैविक इन्धन प्रयोग गर्ने उद्योगमा लगाउने निर्णय भएको हो । यो निकै न्यून लाग्छ । ५० पैसाबाट शुरू हुन्छ । खासै भार पर्दैन’, उनले भने ।