जोडिनुहोस
  • होमपेज
  • १३ लाखभन्दा बढी नक्कली नेपाली नोटसहित ४ जना पक्राउ

१३ लाखभन्दा बढी नक्कली नेपाली नोटसहित ४ जना पक्राउ

जनकपुरधाम। बारा प्रहरीले ठूलो परिमाणमा नक्कली नेपाली नोट बनाउने गिरोहका चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने एक भारतीयसहित चारजना छन् ।

बाराको सिम्रौनगढ नगरपालिका-९ कचोर्वा, सानो बसबरियाबाट प्रहरीले विशेष सूचनाको आधारमा सोमबार पक्राउ गरेको उनीहरूलाई आज सार्वजनिक गरेको बाराका प्रहरी प्रवक्ता डीएसपी दधिराम न्यौपानेले जानकारी दिए । डीएसपी न्‍यौपानेका अनुसार पक्राउ पर्नेमा बाराको कोल्हवी नगरपालिका -६ का २५ वर्षीय राजन चौधरी, वडा-५ का १९ वर्षीय आकाश चौधरी, रौतहटको राजपुर नगरपालिका-१ का १९ वर्षीय मोहन कुमार साह र भारत बिहार राज्य, मोतिहारी, थाना झरौखर, पञ्चायत कबैया ग्राम खरसलवा-७ का ४० वर्षीय मोहमद आलम रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले १३ लाख १६ हजार नक्कली नेपाली नोट बरामद गरेको छ भने ना ३४ प ३५१२ र बी.आर. ०६ ए.डब्लु २७५८ नम्बरको मोटरसाइकल, एकवटा साइकल समेत बरामद पनि गरेको छ ।

पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

धेरै टिप्पणी गरिएका