जोडिनुहोस
  • होमपेज
  • सवारी प्रदूषण नियन्त्रणका लागि चन्द्रागिरीमा निःशुल्क सवारी साधन परीक्षण शिविर

सवारी प्रदूषण नियन्त्रणका लागि चन्द्रागिरीमा निःशुल्क सवारी साधन परीक्षण शिविर

काठमाडौं । चन्द्रागिरी नगरपालिकाले सवारी प्रदूषण नियन्त्रण गर्न कडाइ गर्ने भएको छ । यसका लागि नगरपालिकाले यातायात व्यवस्था विभाग, सवारी परीक्षण कार्यालय टेकुसँग सहकार्य गरी घुम्ती सवारी प्रदूषण परीक्षणलाई उच्च प्राथमिता दिएको छ ।

यस्ता परीक्षणमा ‘फेल’ भएका सवारी साधनलाई नगर क्षेत्रमा प्रयोग गर्न नदिनेसम्मको सोच नगरपालिकाले बनाएको छ । साथै सवारी परीक्षण कार्यालय, ट्राफिक प्रहरी कार्यालयसँगको सहकार्यमा नगरपालिकाले पेट्रोल, ग्यास र डिजेलबाट चल्ने सवारी साधनमा ‘हरियो स्टिकर’ अनुगमनलाई तीव्रता बनाउने जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले वायु प्रदूषणलाई विश्वकै प्रमुख वातावरणीय जोखिमका रुपमा लिएको छ । स्टेट अफ ग्लोबल एयर २०२० ले सन् २०१९ मा नेपालमा वायू प्रदूषणका कारण ४२ हजार एक सयजनाको अकालमा मृत्यु भएको जनाएको थियो । तीमध्ये काठमाडौंमा मात्र पाँच हजार ८० जना रहेका थिए । कचौरा आकारको काठमाडौं उपत्यकाको द्रुत सहरीकरणले गर्दा वायु प्रदूषणको उच्च जोखिममा रहेको जनाइएको छ । वायु प्रदूषणको प्रमुख कारक तत्वमा सवारी साधनबाट निस्कने धुवाँलाई लिइन्छ ।

चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले आजदेखि सुरु भएको निःशुल्क सवारी साधन परीक्षण शिविरको शुभारम्भ गर्दै वायु प्रदूषणको प्रमुख कारक तत्वमा सवारी साधनबाट निस्कने धुवाँलाई नियन्त्रण गर्न नगरपालिकाले उच्च प्राथमिता दिँदै आएको जानकारी दिए। उनले भने, “कलङ्की नागढुङ्गा राजमार्गमा आवतजावत गर्ने मालवाहकलगायत अन्य सवारी साधनबाट निस्केको कालो धुवाँले नगरक्षेत्रमा वायु प्रदूषण बढायो । यसलाई नियन्त्रण गर्न आवश्यक छ । यसमा सङ्घीय सरकारको साथ र सहयोग आवश्यक हुन्छ । हामीले पहिलो चरणमा सवारी प्रदूषण परीक्षणलाई प्राथमिकता दिएका छौँ ।”

नगर क्षेत्रमा वातावरण स्वच्छ राख्न आवश्यक विभिन्न कार्यक्रम सञ्चालन भइराखेको र सवारी साधन परीक्षण शिविरलाई नियमिता दिइने जानकारी दिए । चन्द्रागिरी नगरपालिकाका उपप्रमुख वसन्ती श्रेष्ठ तथा नगरप्रवक्ता कृष्णप्रसाद खड्गीले सवारी साधनबाट निस्केको धुवाँलाई नियन्त्रण गर्न सकिएमा मात्र वायु प्रदूषणको असर न्यूनीकरण गर्न सकिन्छ भने ।

कार्यक्रममा वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख भद्रा अर्यालले सवारी साधन परीक्षण शिविरलाई निरन्तरता दिइने जानकारी दिए । नगरपालिकाले गत वर्ष पनि सवारी साधन परीक्षण शिविरलाई सञ्चालन गरेको थियो । सवारी परीक्षण कार्यालय टेकुका वरिष्ठ प्राविधिक योगनारायण महेताले सवारी परीक्षण कार्यालयले घुम्ती शिविरमार्फत कार्यक्रममा अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग, स्वच्छ हावा कार्यक्रमका प्रमुख भूषण तुलाधारले वायु प्रदूषणको प्रमुख कारक तत्वमा रहेको सवारी साधनबाट निस्केको धुवाँ प्रमुख रहेको जानकारी दिनुहुँदै यसलाई नियन्त्रण गर्न सवारी परीक्षणलाई तीव्रता दिनुपर्छ भने । उनले भने, “चन्द्रागिरी नगरपालिकाले स्वच्छ हावा कायम गर्न अपनाएको नीति अन्य नगरपालिकाले पनि सिक्न जरुरी हुन्छ । ”

मानव स्वास्थ्यका अवस्थाका बारेमा जाँच गर्न स्वास्थ्य शिविर आयोजना गरिएझैँ स्वच्छ हावा कायम गर्न सवारी साधन परीक्षण शिविर सञ्चालन गर्नुपर्ने उनले सुझाव दिए । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोगको आर्थिक एवं प्राविधिक सहयोगमा चन्द्रागिरी नगरपालिमा स्वच्छ हावा परियोजना सञ्चालित छ । परियोजनाको मुख्य ध्येय काठमाडौं उपत्यकाको वायुको गुणस्तरमा सुधार गर्न टेवा पुर्‍याउने रहेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका