जोडिनुहोस
  • होमपेज
  • ‘कांग्रेसले संसदमा अपशब्द बोल्यो’ : एमाले सांसद पौडेल

‘कांग्रेसले संसदमा अपशब्द बोल्यो’ : एमाले सांसद पौडेल

काठमाडौँ । नेकपा एमालेका सांसद दामोदर पौडेल वैरागीले प्रतिनिधि सभा बैठकमा एमाले अध्यक्ष ओलीमाथि कांग्रेस सांसदको दुर्व्यवहार र सभामुखप्रति गरेको व्यवहारले संसद्को गरिमा घटाएको बताएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद वैरागीले अध्यक्ष ओलीमाथि भौतिक आक्रमण गर्ने गरी आएको र अपशब्द बोल्ने काम भएको बताए । सांसद पौडेलले सदन कसले किन अवरुद्ध गर्‍यो ? के मागलाई लिएर अवरुद्ध भयो ? कति अवरुद्ध भए ? ती अवरुद्ध भएका बेला के के सदनमा उठ्नुपर्ने कुराहरू, जनताका उठाउनुपर्ने के के कुराहरू नोक्सान भए? भन्ने कुरा सबैले बुझेको बताए ।

उनले भने–‘हामीले सांसदका दृश्य हेर्‍यौँ, संसदमा नियम हुन्छ, कानुन हुन्छ, सभामुखले दिएको समयलाई दयाको भिखको समय चाहिँदैन भनेर सभामुखप्रति अपशब्द बोलेको पनि हामीले सुन्यौँ । यसले सदनको गरिमालाई कायम राख्यो कि बढायो, त्यो कुरालाई स्वमूल्याङ्कन गर्नुपर्ने विषय छ ।’

उनले अगाडि भने–‘त्यति मात्र होइन, सत्ता साझेदार दलको मुख्य नेतामाथि नै भौतिक आक्रमण गर्न आए जसरी अपशब्द बोल्ने काम पनि गरियो । यसले पनि हाम्रो सांसदलाई कतिको गरिमामय बनायो भन्ने विषयको पनि हामीले लेखाजोखा गर्नु नै पर्नेछ ।’

कांग्रेसले संसद बन्धक बनाएका बेला देशभरी आगलागी भएको र आफ्नो निर्वाचन क्षेत्रमा आगोबाट भएको क्षतिको कुरा संसदमा राख्न नपाएको सांसद वैरागीले गुनासो गरे । धेरै बाटोघाटो नबनेको, बिरामीको उपचार नभएको कुरा बोल्न नपाएको, सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्न नपाएको विषयले पोलिरहेको बताए ।

उनले सहकारीमाथि धेरै समस्या भएपनि केही सहकारीमाथि मात्र छानविनका लागि समिति बनाएको र अन्य सहकारीका बारेमा गम्भीर हुने कि नहुने भन्दै प्रश्न गरे । एउटा मान्छेको नाममा अल्झिएर संसद अवरुद्ध भएको उनले बताए ।

धेरै टिप्पणी गरिएका