जोडिनुहोस
  • होमपेज
  • कुवेतका अमिरद्वारा नयाँ युवराज घोषणा

अन्तर्राष्ट्रिय

कुवेतका अमिरद्वारा नयाँ युवराज घोषणा

  • Sagarmatha TV
  • आइतवार, जेष्ठ २०, २०८१
कुवेतका अमिरद्वारा नयाँ युवराज घोषणा

कुवेत सिटी । कुवेतका अमिरले राजगद्दी सम्हालेको ६ महिनापछि र संसद् निलम्बन गरेको केही हप्तापछि शनिवार नयाँ युवराजका रूपमा शेख सबाह खालिद अल–हमाद अल–सबाहको नाम सार्वजनिक गरेका छन् ।

सन् २०११ देखि २०१९ सम्म खाडी मुलुकको विदेश मन्त्री र सन् २०२२ सम्म प्रधानमन्त्री भइसकेका ७१ वर्षीय शेख राजनीतिक एवं कूटनीतिक जगतमा अनुभवी व्यक्ति मानिन्छन् । गत मे महिनामा ८३ वर्षीय अमिर शेख मेशाल अल अहमद अल सबाहले निर्वाचनको ६ हप्तापछि संसद् विघटन गरेपछि कुवेतमा नयाँ राजनीतिक उथलपुथल मच्चिएको थियो । उनले संविधानका केही प्रावधान पनि निलम्बन गरेका थिए ।

गत डिसेम्बरमा राष्ट्रप्रमुखको जिम्मेवारी सम्हालेपछि उनले दोस्रो सरकार गठन गरी जिम्मेवारी तोकेका थिए । अन्य खाडी मुलुकहरूको तुलनामा कुवेतमा प्रभावशाली संसद् छ भने अधिकांश शक्ति राजपरिवारमा छ ।

सांसदहरूसँग अधिकार भए पनि सरकारसँग उनीहरूको नियमित लडाइँले बारम्बार सङ्कट निम्त्याउँछ । कुवेतसँग विश्वको करिब सात प्रतिशत तेल भण्डार छ र यो देशमा विश्वको सबैभन्दा ठुलो सार्वभौम सम्पत्ति कोष रहेको छ । तर, हालैका वर्षहरूमा कुवेतले आफ्नो अर्थतन्त्रलाई तेलमा निर्भरताबाट टाढा राख्न सङ्घर्ष गरिरहेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका