जोडिनुहोस
  • होमपेज
  • सरकारी र निजी अस्पतालहरूमा स्वास्थ्य सेवा शुल्क निर्धारण गर्नुपर्छ : तोसिमा कार्की]

सरकारी र निजी अस्पतालहरूमा स्वास्थ्य सेवा शुल्क निर्धारण गर्नुपर्छ : तोसिमा कार्की]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद एवं पूर्वस्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले सरकारी तथा निजी क्षेत्रको अस्पतालहरूमा स्वास्थ्य सेवा शुल्क निर्धारण गर्न सरकारसँग माग गरेकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले स्वास्थ्यकर्मीको दरबन्दी थप्ने र त्यसको व्यवस्थापन गर्ने काममा पनि सरकारले ढिलाइ गर्न नहुने बताइन् ।

“स्वास्थ्यकर्मीको दरबन्दी थप्ने, उचित व्यवस्थापन गर्ने र स्वास्थ्य सेवा शुल्क निर्धारण गरिनुपर्छ,” उनले भनिन् । उनले मुलुकको स्वास्थ्य क्षेत्र लथालिंग भएकाले त्यसको नियमनमा उचित ध्यान दिन पनि सरकारलाई सचेत गराइन् ।

“स्वास्थ्य क्षेत्रलाई त सरकारले कहिल्यै पनि प्राथमिकतामा नराखेको हो कि भनेजस्तो मलाई भान हुन्छ । हुन त झट्ट हेर्दा ८६ अर्ब २४ करोड बजेट राखिएको छ । जुन गत वर्षको भन्दा दुई अर्ब २५ करोड बढेको हो । तर, कुल बजेटको प्रतिशत हेर्दा ४.६४ प्रतिशत मात्र छ । कोभिडको समयमा ८.६ प्रतिश पुगेको थियो । जुन अहिलेसम्मका हिष्ट्रीमा धेरै हो । त्यो पनि अपर्याप्त छ । विश्व स्वास्थ्य संगठनले नेपालजस्तो विकासोन्मुख मुलुकमा १० प्रतिशत बजेट छुट्टयाउनु स्वास्थ्यतर्फ भनेर स्पष्ट भनेको छ । जुन हामीले पटक–पटक भन्दै आएका छौँ । तर, त्यसतर्फ सरकारको कुनै प्राथमिकता परेको जस्तो मलाई लागेको छैन । स्वास्थ्य क्षेत्रका सबै लथालिंग भएको अवस्थामा यसको नियमन गर्नुपर्ने पनि अर्को पाटो छ,” सांसद कार्कीले भनिन् ।

स्वास्स्थ्य बिमामा नागरिकको अधिकतम पहुँचमा पुर्‍याउनुपर्ने बताउँदै उनले आईटी पार्क बनाउने विषय असफल भइसकेकाले त्यसमा जोड दिने काम नगर्न पनि सरकारलाई सुझाव दिइन् ।

“सरकारले स्वास्थ्य बिमालाई आमनागरिकको पहुँचमा कसरी पुर्‍याउने ? ७/८ वर्षमा किन २६ प्रतिशत मात्रै पहुँच पुगेको छ ? यसमा पुनर्विचार गर्नुपर्छ । आईटी पार्क भनेर ३० करोड लगानी गरेर बनाइयो । जुन अहिले खण्डहरजस्तो अवस्थामा पुगेको छ । अहिले हामीले फेरि नयाँ आइटी पार्क बनाउँछौँ भनेर योजनाहरू ल्याउँदै गर्दा विगतमा हामी यो कन्सेप्टमा गएर फेल भइसकेको उदाहरण हामीसँग हुँदै गर्दा अब हामी यसमा सफल हुने आधारहरू के छ ? भनेर यसलाई थप स्पष्ट पार्न जरुरी छ,” उनले भनिन् ।

धेरै टिप्पणी गरिएका