जोडिनुहोस
  • होमपेज
  • अर्थमन्त्रीले भने– बजेट उत्पादन केन्द्रित र वस्तुपरक छ, ६ प्रतिशतको लक्ष्य भेटिन्छ

अर्थमन्त्रीले भने– बजेट उत्पादन केन्द्रित र वस्तुपरक छ, ६ प्रतिशतको लक्ष्य भेटिन्छ

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट सन्तुलित र विकासलाई प्राथमिकता दिनेगरी ल्याएको बताएका छन् । राष्ट्रिय सभामा बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको मंगलबार जवाफ दिँदै अर्थमन्त्री पुनले सन्तुलित बजेट ल्याएको बताएका हुन् ।

उनले आगामी वर्षको बजेट सातै प्रदेशलाई समानरुपमा बजेट वितरण गर्ने र राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकतामा राखेको दाबी गरे । उनले भने, ‘विगतका वर्षमा गरिएका आर्थिक सुधारका विषयलाई निरन्तरता दिँदै, रोजगारी सृजना गर्दै अर्थतन्त्रलाई मजबुत बनाउँदै आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्ष घोषणा गरिएको छ ।’

उनले आगामी वर्षको बजेटमा ५ प्राथमिकता र ५ उद्देश्य लिएको स्मरण गराए । उनीभन्दा अघि बोलेका सांसदहरूले बजेटले लिएको ६ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य महत्त्वाकाङ्क्षी रहेको, घोषित कार्यक्रम कार्यान्वयनमा चुनौतीपूर्ण, ठुलो आकार र वितरणमुखी भएको, वैदेशिक अनुदान र ऋणको लक्ष्य भेट्न कठिन रहेको लगायतका विषय उठाएका थिए ।

यस्तै सिद्धान्त र प्राथमिकता बमोजिम बजेट नआएको, चालू खर्च घटाउने योजना चुनौतीपूर्ण रहेको र शिक्षा तथा स्वास्थ्य मन्त्रालयको बजेट घट्दा अर्थ मन्त्रालयमा थुप्रिएको बजेटका विषय समेत सांसदहरूले प्रश्न उठाएका थिए । यस्तै सरकारी कर्मचारीको तलब वृद्धि नभएको, जलवायु परिवर्तन अनुकूल बजेट नआएको लगायतका विषय समेत सांसदले उठाएका थिए ।

यस्तै अर्थमन्त्री पुनले आगामी वर्षका लागि विनियोजन भएको बजेट नेता केन्द्रित नभएको दाबी गरे । विगतमा अर्थ मन्त्रालयले ठुला र प्रभावशाली नेताको इच्छाबमोजिम निर्वाचन केन्द्रित बजेट विनियोजन हुने परिपाटी थियो । यही विषयलाई सम्बोधन गर्दै अर्थमन्त्री पुनले आगामी वर्षको बजेटमा त्यस्तो समस्या नदोहोरिएको बताए । ‘बजेट ठुला नेताको निर्वाचन क्षेत्र, प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा मात्रै गयो भन्ने आरोप लाग्नबाट जोगिने प्रयास भएको छ,’ उनले भने, ‘यसपाली १६५ वटै निर्वाचन क्षेत्रमा समानरुपले बजेट विनियोजन गरिएको छ ।’

यी विषयमा जवाफ दिँदै अर्थमन्त्रीले नीति तथा कार्यक्रमअनुसार र नेपाल सरकारले अन्तर्राष्ट्रिय जगतमा गरेको प्रतिबद्धता बमोजिम बजेट ल्याएको बताए । यस्तै लगानी सम्मेलनका क्रममा भएको प्रतिबद्धतालाई समेत बजेटले प्राथमिकतामा राखेको उनको भनाई छ । गत वर्ष १.९ प्रतिशतको आर्थिक वृद्धि भएकामा चालू वर्ष ३.९ प्रतिशतको वृद्धिदर हासिल हुने अनुमान सरकारको छ ।

‘गत वर्षको तुलनामा चालू वर्ष आर्थिक स्थिति सुधार हुँदै गएकाले आगामी वर्षमा थप आर्थिक वृद्धि हुने अपेक्षासहित ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य तय गरिएको छ,’ पुनले भने, ‘निजी क्षेत्रको मनोबल सुधारिएको छ । बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजी थुप्रिएको छ ।’ सोहीकारण बजेटमा प्रस्ताव गरिएका आयोजना र लगानीले ६ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने अर्थमन्त्रीले दोहोर्याए ।

बजेट बनाउँदा राष्ट्र बैंकले समेत पर्याप्त सुझाव दिएको उनको भनाई छ । सोहीकारण बजेटले लिएका नीतिलाई सहजीकरण गर्दै आगामी मौद्रिक नीति आउनेमा विश्वास व्यक्त गरे । ‘गभर्नरज्यूले पछिल्ला कार्यक्रममा दिएको वक्तव्यले समेत यसलाई पुष्टि गर्छ,’ पुनले भने, ‘आगामी वर्षको मौद्रिक नीति बजेटका कार्यक्रमलाई समर्थन गर्दै लचिलो आउन सक्छ ।’

अर्थमन्त्री पुनले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । यो बजेटको आकार महत्त्वाकाङ्क्षी नभएर वस्तुपरक भएको उनले बताउँदै आएका छन् । यसक्रममा अर्थमन्त्री पुनले आजभन्दा तीन वर्ष अघि भएको २०८१÷८२ को मध्यावधि खर्च संरचना प्रस्तुत गर्दाको आकार सम्झिए ।

सो प्रस्तावमा २०८१÷८२ को बजेटको आकार साढे १९ खर्ब रुपैयाँभन्दा माथि हुने भनिएको थियो । ‘त्यो आकारभन्दा १ खर्ब कम आकारको बजेट आएको छ,’ पुनले थपे, ‘यसकारण आगामी वर्षको बजेट महत्त्वाकाङ्क्षी छैन । यो वस्तुपरक छ ।’ उनले आगामी वर्षको बजेट युवापुस्तालाई आकर्षित गर्ने, निजी क्षेत्रको मनोबल उकास्ने लक्ष्यसहित आएको बताए ।

‘आगामी वर्षको बजेट वितरणमुखी नभए उत्पादनमुखी भएको जानकारी गराउन चाहन्छु,’ उनले भने, ‘चालू वर्षको बजेटको आकारको तुलनामा आगामी वर्षको बजेटको आकार ६.२ प्रतिशतले मात्रै बढी हो ।’ यसैगरी आगामी वर्षको बजेटमार्फत सन्तुलित विकासलाई प्राथमिकतामा राखेको पुनले बताए ।

धेरै टिप्पणी गरिएका