काठमाडौँ । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको पछिल्लो अभिव्यक्तिले आफैलाई गिज्याईरहेको टिप्पणी गरेका छन् ।
उनले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि निम्छरो, अशिष्ट र उदण्डताका साथ अभिव्यक्ति दिएको जिकिर गर्दै त्यसले उनको पदीय मर्यादालाई होचो बनाइरहेको टिप्पणी गरे ।मंगलवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले अध्यक्ष ओलीमाथि गालीगलौजको भाषामा मेयर साहको दिएको अभिव्यक्ति तत्काल सच्याउनुपर्ने समेत बताए ।
प्रमुख सचेतक बर्तौलाले मेयर साहले इतिहासलाई अवमूल्यन गर्ने, नेतृत्वमाथि गालीगलौज गर्ने शैलीले मुलुकको कानूनी शासनमाथि नै चुनौति दिने गरेको भन्दै आक्रोश व्यक्त गरे । प्रमुख सचेतक बर्तौलाले राज्यका विद्यमान कानूनी प्रबन्धहरुलाई कुनैपनि व्यक्तिले चुनौति दिन नमिल्ने पनि बताए ।