जोडिनुहोस
  • होमपेज
  • ‘बिरामी’ परेको भन्दै विश्वासको मतको कार्यसूची सार्न मुख्यमन्त्री यादवको पत्र

‘बिरामी’ परेको भन्दै विश्वासको मतको कार्यसूची सार्न मुख्यमन्त्री यादवको पत्र

जनकपुरधाम- विश्वासको मत लिनेगरी बुधबारका लागि मधेस प्रदेश सभाको बैठक डाकिएको अवस्थामा मुख्यमन्त्री सरोजकुमार यादव बिरामी परेका छन् ।

आफू बिरामी परेको भन्दै उनले विश्वासको मतसम्बन्धी कार्यसूची सार्न सभामुख रामचन्द्र मण्डलकहाँ पत्र पठाएका छन् ।प्रदेशसभाको बैठक बुधबार दिउँसो ३ बजे बस्ने गरी डाकिएको बैठकको कार्यसूचीबाट विश्वासको मत लिने कार्यक्रम हटाइदिन भन्दै मुख्यमन्त्रीले पत्र पठाएका हुन् ।

मुख्यमन्त्री यादवको पत्र आएपछि सर्वदलीय बैठक बोलाइएको मधेश प्रदेशसभाका सूचना अधिकारी चन्दनकुमार ठाकुरले खबरहबलाई बताए । ‘सभामुखकहाँ मुख्यमन्त्रीको निवेदन आएको छ’, उनले भने, ‘मुख्यमन्त्रीले विश्वासको मतको कार्यक्रम कार्यसूचीबाट हटाउन निवेदन दिएपछि अहिले सर्वदलीय बैठक डाकिएको छ ।’

मुख्यमन्त्री यादवले बुधबारको बैठकबाट विश्वासको मतसम्बन्धी कार्यसूची हटाएर आगामी जेठ २८ गतेका लागि तोक्न सभामुख मण्डललाई भनेका छन् ।  उनले निवेदनमा आफू अस्वस्थ रहेको बताएका छन् । माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले आफ्ना दुई मन्त्रीलाई मंगलबार साँझ सरकारबाट फिर्ता बोलाइसकेपछि मुख्यमन्त्री यादवको संकट बढेको छ ।

जसपासमेत विभाजित भएको अवस्थामा एकीकृत समाजवादीले पनि सरकारबाट फिर्ता हुने निर्णय गरेसँगै उनले विश्वासको मत पाउने छैनन्। एकीकृत समाजवादी अब मधेसमा पनि केन्द्रको सत्ता गठबन्धनसँगै जोडिने छ ।

१०७ सदस्यीय मधेस प्रदेश सभामा २५ प्रदेश सांसदसहित एमाले पहिलो दलका रुपमा छ । प्रदेश सभामा कांग्रेसका २२, जसपा नेपालका १९, जनमतका १३, लोकतान्त्रिक समाजवादीका ८, माओवादीका ९ र एकीकृत समाजवादीका ७ सदस्य छन् ।

लोसपाका ९ मध्ये १ जना सांसद अभिराम शर्मा निलम्बित छन् । उनी संसदीय दलको नेता हुँदै असई थमन विक हत्या प्रकरणमा अदालतबाट दोषी पाइएपछि निलम्बित भएका हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादीका पनि मधेस प्रदेश सभामा १–१ जना सांसद छन् ।

१०७ सदस्यीय मधेस प्रदेश सभामा सरकार बनाउन ५४ सांसदको समर्थन चाहिन्छ । त्यसमध्ये एमालेका रामचन्द्र मण्डल अहिले सभामुख छन् । त्यसबाहेक ४६ सांसद रहेको तीन दलीय गठबन्धनलाई सरकार बनाउन थप ८ जना चाहिन्छ ।

यस्तोमा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका ७ जना सांसद छन् । एकीकृत समाजवादीले केन्द्रीय गठबन्धन अनुसार तीन दललाई समर्थन गर्दा यो संख्या ५३ पुगेको छ । सरकारका लागि केन्द्रको सत्ता गठबन्धनलाई मधेसमा अझै १ सांसद अपुग हुन्छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका