जोडिनुहोस
  • होमपेज
  • मोदीले तेस्रो कार्यकाल प्रधानमन्त्रीको शपथ शनिबार लिन सक्ने

मोदीले तेस्रो कार्यकाल प्रधानमन्त्रीको शपथ शनिबार लिन सक्ने

नयाँ दिल्ली- भारतमा नरेन्द्र मोदीले तेस्रो कार्यकालको प्रधानमन्त्रीका रुपमा शनिबार शपथ लिने तयारी गरेका छन् ।

मंगलबार आएको चुनावी परिणामअनुसार मोदी लगातार तेस्रो पटक सरकार बनाउने स्थितिमा पुगेका हुन् । तर भाजपाले भारतीय लोकसभामा बहुमत लिन सकेन । २७२ सिट चाहिनेमा भाजपा २४० सिटमै खुम्चियो ।

तर भाजपा नेतृत्वको एनडीए गठबन्धनलाई २९२ अर्थात् बहुमतभन्दा २० सिट धेरै हात लागेको छ । भारतीय जनता पार्टीका उम्मेदवारले देशभर २४० सिट जितेका छन् । अब सरकार गठनका लागि भाजपाले सहयोगी दलको साथ लिनुपर्ने भएको छ । यसअघि सन् २०१९ मा ३०३ र २०१४ मा भाजपाले २८२ सिट जितेको थियो ।

सरकार बनाउने कोसिस तीव्र भएपछि बिहारका मुख्यमन्त्री तथा जनता दल युनाइटेडका नेता नीतिश कुमार एनडीएको बैठकका लागि दिल्ली पुगेका छन् । पार्टी सांसद सञ्जय कुमार झा पनि उनीसँग दिल्लीमा छन् । झाले अब एनडीएको सरकार बन्ने बताए ।

लोक जनशक्ति पार्टी (रामविलास) का प्रमुख चिराग पासवानले पनि बुधवार बिहान बिहारका मुख्यमन्त्री नीतिश कुमारसँग वार्ता गरे । भेटपछि पासवानले बधाई दिन भेट गरेको बताए । नीतिशकुमारले एनडीएलाई बलियो बनाएको उनले बताए । उनले बिहारमा गठबन्धनको प्रदर्शनको श्रेय प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्री नीतिश कुमार दुवैलाई जाने बताए।

बिहारका मुख्यमन्त्री नीतिश कुमार र पूर्व उपमुख्यमन्त्री तेजस्वी यादव एकै विमानबाट दिल्ली पुगेका छन् । नीतिश भाजपाको एनडीए र तेजस्वी इन्डिया गठबन्धनका सदस्य हुन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका