जोडिनुहोस
  • होमपेज
  • मध्यपहाडी लोकमार्गमा पुल नबन्दा आवागमनमा समस्या

मध्यपहाडी लोकमार्गमा पुल नबन्दा आवागमनमा समस्या

पर्वत– पूर्व–पश्चिम जोड्ने पुष्पलाल मध्यपहाडी लोकमार्गको पर्वत खण्डको काम सम्पन्न भएको तीन वर्ष पुगिसकेको छ ।

सडक खण्ड कालोपत्र सम्पन्न भएको तीन वर्ष पुगे पनि पर्वत खण्डमा पर्ने चार खोलामा पुल नबन्दा सहज रुपमा यातायातका साधन सञ्चालनमा समस्या भएको छ ।

पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका अनुसार लोकमार्गको पर्वत खण्डमा रहेका तमादी खोला, सुन्दरेखोला, पातीखोला र मोदी खोलामा चार मोटरेवल पुल निर्माणको तयारी छ ।

पोखरा–कुश्मा सडक खण्डअन्तर्गत करिब २४ किलोमिटर खण्डमा पर्ने खोलामा मोटरेवल पुल निर्माण नहुँदा नियमित यातायात सञ्चालनमा समस्या हुँदै आएको छ । कुश्मा–७ र ८ को बीचमापर्ने तमादी खोलामा पुल निर्माणको काम भइरहेको छ । यो पुलको निर्माणकार्य करिब ७५ प्रतिशत सम्पन्न भएको इञ्जिनीयर धीरज ढकालले जानकारी दिए। करिब ६ करोड लागतमा निर्माण हुन लागेको उक्त पुलको श्री सिद्धबाबा निर्माण सेवा वालिङले जिम्मा लिएको छ ।

तमादी खोलामा वर्षातको समयमा अत्यधिक बाढी आउँदा सडक भत्किएर मानवीय र भौतिक क्षति हुँदै आएको छ । यो खोलामा गत भदौमा आएको बाढीले बोलेरो जीप बगाउँदा तीन जनाको मृत्यु भएको थियो ।

इञ्जिनीयर ढकालका अनुसार यो पुलसँगै अन्य तीनवटा मोटरेवल पुल पनि निर्माण भइसक्नुपर्नेमा हालसम्म कामको सुरुआत भएको छैन । कुश्मा-८ मै पर्ने सुन्दरे खोलाको पुल निर्माण गर्न डिजाइन स्वीकृत भइसकेको छ । ८० मिटर लामो पुल निर्माणको जिम्मा लुम्बिनी प्राकृतिक जेभिले लिएको छ ।

यो पुलसँगै उक्त निर्माण कम्पनीले अन्य पुल निर्माणको पनि जिम्मा लिएको छ । निर्माण कम्पनीले मोदी गाउँपालिकाको पातीखोला र डिमुवास्थित मोदीखोलामा पनि पुल निर्माण गर्न लागेको छ । मोदीखोलामा ६२ मिटर र पातीखोलामा दुवैतर्फ ५२-५२ मिटर लामा दुई पुल निर्माण हुनेछन् । पुलको डिजाइन स्वीकृतिमा ढिलाइ भएका कारण निर्माणले गति लिन नसकेको इञ्जिनीयर ढकाल बताउँछन्। ती पुलको लागत रु ४४ करोड १५ लाख रहेको छ ।

मध्यपहाडी लोकमार्गअन्तरगत पोखरा–कुश्मा सडकको दुई वर्ष पहिला नै दुई लेनको सडक स्तरोन्नति भइसकेको छ । सडक दुई लेनको बने पनि पुरानो संरचनामा बनेका सिंगल लेनका पुलले सवारी साधनको चाप धान्न गाह्रो भएकाले नयाँ पुल थप गर्ने योजना रहेको कार्यालयले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका