जोडिनुहोस
  • होमपेज
  • श्रमाधान रोजगार मेलाले आन्तरिक रोजगारी प्रवर्द्धनको आधार तयार पार्नेछ : श्रममन्त्री अर्याल

श्रमाधान रोजगार मेलाले आन्तरिक रोजगारी प्रवर्द्धनको आधार तयार पार्नेछ : श्रममन्त्री अर्याल

सुर्खेत । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले मन्त्रालयले आयोजना गरेको श्रमाधान रोजगार मेलाले आन्तरिक रोजगारी प्रवर्द्धनको आधार तयार पार्ने बताएका छन् । शुक्रबार कर्णाली प्रदेशको सुर्खेतमा आयोजित रोजगार मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दे मन्त्री अर्यालले मेलाले रोजगारदाता र श्रमिकबिच मध्यस्थकर्ताको भूमिका खेल्ने बताएका हुन् ।

उद्घाटनलाई सम्बोधन गर्दे मन्त्री अर्यालले कर्णाली प्रदेश आफैँमा समृद्धि भएको बताए । अथाह सम्भावना रहेको कर्णाली प्रदेशको विकासका लागि सङ्घीय सरकारले ढोका मात्रै ढकढकाउने काम गर्ने बताए । “कर्णाली विकासको ढोका खोल्ने काम आफैँले गर्नेछ,” उनले भने ।

कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले श्रमिक र रोजगारदाताबिच सेतुको रूपमा आयोजित श्रमाधान रोजगार मेलाको आयोजन गरेकोप्रति मन्त्रालयलाई धन्यवाद दिए । सरोकारवालालाई एकै ठाउँमा ल्याएर रोजगारीको अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको श्रमाधान मेलाको पूर्ण सफलताको पनि कामना समेत उनले गरे ।

मुलुकभित्रै प्रचुर सम्भावना हुँदाहुँदै पनि नेपालले बेरोजगारीको सामना गर्नुपरेको बताउँदै उनले नेपालको युवा शक्तिलाई मुलुकभित्र टिकाई राख्न शिक्षा प्रणाली र लगानीमा नीतिगत सुधार ल्याउनुपर्ने बताए । यद्यपि कर्णाली सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा रोजगारी र उद्यमशीलताका लागि धेरै योजना अघि सारेको पनि बताए ।

त्यस्तै, कर्णाली प्रदेशका मन्त्री दुर्गाबहादुर राउतले नेपाली नागरिकसँग परम्परागत सीप भएपनि त्यसले मान्यता नपाउँदा सीपको मूल्याङ्कन नभएको बताए । “नेपाली युवासँग डोको, राडी, पाखी बुन्ने सीप छ । यो सीप इन्जिनियरको भन्दा कम छैन । तर, यो सीपले प्रमाणपत्र पाउन सकेको छैन । जसका कारण सीप भएका नेपाली युवाको पहिचान र मूल्याङ्कन हुन सकेको छैन,” उनले भने ।

त्यस्तै, वीरेन्द्रनगर नगरपालिका मेयर मोहनमाया ढकालले वीरेन्द्रनगरको पार्क, बगैँचा र चोकमा थुप्रिएका युवाको भिड, उनीहरुको सामाजिक सञ्जालमा सजिएका फोटा र टिकटले नीति बनाउनका लागि सरकारलाई घचघच्याई रहेको बताइन् । “यो भिडले हामी मुलुकमा नै रहन चाहन्छौ, हाम्रो लागि नीति बनाउ भन्छ,” उनले भनिन् । तर, कर्णाली दुर्गम र गरिब छ भन्ने भाष्य परिवर्तन गर्नुपर्ने उनले बताइन् ।

स्थानीय सरकारसँग मिलेर केन्द्रीय सरकारले आयोजना गरेको श्रमाधान रोजगार मेलाले आगामी दिनमा रोजगारी सृजनाको अवसर र आर्थिक समुन्नति ढोका खोल्नमा सहयोग पुग्ने विश्वास लिएको उनले बताइन् ।

मेलामा सरकारी तथा निजी क्षेत्रको गरी ४० वटा स्टल राखिएका छन् । त्यस्तै, विभिन्न विषयक कार्यशाला र सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिने बताइएको छ । मेला सुर्खेत वीरेन्द्रनगरको सिटी हलमा भोलिसम्म सञ्चालन हुनेछ ।

धेरै टिप्पणी गरिएका