जोडिनुहोस
  • होमपेज
  • मनसुनअघि नै विकासका काम सम्पन्न गर्न सुझाव

मनसुनअघि नै विकासका काम सम्पन्न गर्न सुझाव

प्रतिनिधिसभा, पूर्वाधार विकास समितिका सदस्यहरुले चालु आर्थिक वर्षका  लागि तोकिएका विकास पूर्वाधार निर्माणका काम मनसुन सुरु हुनुअगावै सम्पन्न गर्न सुझाव दिएका छन्।

आज बसेको समितिको बैठकमा उनीहरुले मनसुनमा विकास निर्माण गुणस्तरीय नहुने भन्दै मनसुन सुरुअघि नै निर्माण सम्पन्न गर्नका लागि सुझाव दिएका हुन्।

समिति सभापति दीपकबहादुर सिंहले निर्माण समयमा नै नसक्दा कतिपय विकासका आयोजनाहरु अलपत्र अवस्थामा रहेको भन्दै तोकिएको समयमा नै काम सक्न भौतिक पूर्वाधार तथा यातायत मन्त्रालयलाई निर्देशन दिने तयारी भएको जानकारी गराएका छन्।

‘बुटवल– नारायणगढ तथा तनहुँ–पोखरा सडकखण्ड निर्माण सम्पन्न हुन नसक्दा यात्रुहरुलाई आवतजावतमा असज भएको छ, यीलगायत अन्य पूर्वाधार निर्माण समय नै सक्नका लागि समितिले मन्त्रालयलाई राय तथा निर्देशन दिने छौँ,’ उनले भने।

समिति सदस्य माधव सापकोटाले यस वर्ष समय अगावै मनसुन सुरु हुन लागेको भन्दै निर्माणाधिन अवस्थामा रहेका पूर्वाधार विकासको काम सम्पन्न गर्नुपर्ने सुझाव दिए। ‘पूर्वाधारका आयोजनाहरु समयमा नै सम्पन्न गर्न नसक्दा लथालिङ्ग भएको देखिन्छ,’ उनले भने, ‘असार लागेपछि मात्रै धामाधम विकास आयोजनाको काम अगाडि बढाइन्छ तर मनसुन सूरु हुनुअगावै आयोजना निर्माण काम सम्पन्न गर्न सकेमा पूर्वाधार निर्माण गुणस्तरीय हुन्छ।’

समिति सदस्य शिव नेपालीले वर्षा सुरु हुनुअगावै सम्बन्धित मन्त्रालयलाई पूर्वाधार विकासलाई द्रूत गतिमा अगाडि बढाउन निर्देशन दिनुपर्ने बताए। निर्माणधिन तथा निर्माण सम्पन्न भइसकेका पूर्वाधार आयोजनाहरुको अनुगमनको विषयमा प्रतिनिधिसभा सदस्यहरु प्रत्यक्ष रुपमा संलग्न रहनुपर्ने उनको भनाइ थियो।

समिति सदस्य मैना कार्कीले बजेट सक्नका लागि पूर्वाधार निर्माणमा हतार गर्न नहुने धारणा राखे। सदस्य विना लामाले पूर्वाधार विकासको नीतिको प्रभावकारी रुपमा कार्यान्वयन गर्न अनुगमनलाई प्रथामिकता दिनुपर्नेमा जोड दिइन्।

सदस्य प्रतिमा गौतमले सात वटै प्रदेशमा अनुगमनलाई अगाडि बढाउनुपर्नेमा सुझाव दिए। सदस्यद्वय कल्पना चौधरी र प्रेमबहादुर महर्जनले पनि विकासका पूर्वाधार निर्माणलाई समयमा नै सक्न र पारदर्शी बजेट खर्च गर्नका लागि अनुगमनलाई प्रथामिकता दिनुपर्नेमा जोड दिए।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका