जोडिनुहोस
  • होमपेज
  • महासमितिका प्रतिवेदन अनुमोदन गर्न असार दोस्रो साता बैठक राख्ने कांग्रेसको तयारी

महासमितिका प्रतिवेदन अनुमोदन गर्न असार दोस्रो साता बैठक राख्ने कांग्रेसको तयारी

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक असार दोस्रो साता बस्ने तयारी छ । गत फागुन (७—१०) मा ललितपुरको गोदावरीमा सम्पन्न महासमिति बैठकबाट पारित प्रतिवेदन संशोधनसहित पारित गर्न बैठक बस्ने भएको हो ।

जेठ १७ मा पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा प्रतिवेदन संशोधन गरी असार दोस्रो साता केन्द्रीय समिति बैठक राखेर पारित गराउने सझदारी भएको उपसभापति धनराज गुरुङले बताए ।

महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काको नीति, महामन्त्री गगन थापाको सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रतिवेदन केन्द्रीय समिति बैठकबाट संशोधनसहित अनुमोदन गर्ने गरी पारित भएको थियो ।

महासमिति बैठकबाट प्राप्त सुझाव अनुसार आ–आफ्नो प्रतिवेदन संशोधन गर्न खड्का, थापा र शर्माले काम गरिरहेको गुरुङले रातोपाटीलाई बताए । उनका अनुसार कांग्रेसले महासमिति बैठकबाट पारित प्रतिवेदन नयाँ राजनीतिक परिस्थितिलाई जोडेर अनुमोदन गर्नेछ । सत्ता पक्षमा हुँदा महासमिति बैठकबाट पारित प्रतिवेदनलाई फागुन २१ बाट प्रतिपक्षमा पुगेको कांग्रेसले राजनीतिक नीतिबारे नयाँ दृष्टिकोण दिनेछ ।

रास्वपाका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी मुद्दा र वैशाख १५ मा सम्पन्न उपनिर्वाचनका कारण महासमितिबाट पारित प्रतिवेदन अलपत्र परेका थिए ।

जेठ ९ मा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक लामिछाने जोडिएको सहकारी ठगीका विषयमा केन्द्रित भएको थियो । सहकारी ठगीमा संसदीय छानबिन समिति गठनको माग गर्दै लामो समय सदन र सडकबाट सरकारलाई दबाब दिँदा कांग्रेसका आन्तरिक गतिविधि ठप्प जस्तै थिए । जेठ १५ मा संसदीय समिति बनेपछि कांग्रेस पार्टीका आन्तरिक विषयमा केन्द्रित भएको देखिन्छ ।

धेरै टिप्पणी गरिएका