जोडिनुहोस
  • होमपेज
  • राष्ट्रपति पौडेलले जर्मनी र स्विट्जरल्यान्डका राष्ट्र प्रमुखसँग भेट्ने

राष्ट्रपति पौडेलले जर्मनी र स्विट्जरल्यान्डका राष्ट्र प्रमुखसँग भेट्ने

राष्ट्रपति रामचन्द्र पौडेल सोमबार स्विट्जरल्यान्डको जेनेभा जाने भएका छन् । पौडेल असार ५ गते स्वदेश फिर्ता हुने कार्यक्रम छ । अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोशल जस्टिस) उद्घाटन मञ्चमा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन् ।

राष्ट्रपति पौडेलले यही जेठ ३१ गते सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले स्विस महासङ्घका राष्ट्रपति विओला आमर्डसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । भ्रमणपछि राष्ट्रपति पौडेल आगामी असार १ गते जेनेभाबाट जर्मनीको बर्लिन प्रस्थान गर्ने कार्यक्रम छ । गणतन्त्र जर्मनीका राष्ट्रपति फ्रैंक–वाल्टर स्टिनमेयरको निमन्त्रणामा उनी जर्मनीको औपचारिक भ्रमण गर्न लागेका हुन् ।

जर्मनी र स्विट्जरल्यान्डका राष्ट्र प्रमुखसँगको द्विपक्षीय भेटवार्ताले नेपालको आर्थिक विकासमा थप अभिवृद्धि गर्न अवसरको नयाँ बाटो खुल्ने विश्वास लिइएको छ । भ्रमणमा राष्ट्रपति पौडेलका साथ उनकी धर्मपत्नी सविता पौडेल रहनेछिन् । अन्य सदस्यहरूमा राष्ट्रपतिका परराष्ट्र मामिला विज्ञ डा. सुरेशचन्द्र चालिसे, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका सचिवहरू, स्विट्जरल्यान्ड र जर्मनीका लागि नेपाली राजदूतहरू तथा राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू रहनेछन् ।

धेरै टिप्पणी गरिएका