जोडिनुहोस
  • होमपेज
  • सूचना र प्रविधिको क्षेत्र धेरै अनियमितता हुने क्षेत्र होः सञ्चारमन्त्री शर्मा

सूचना र प्रविधिको क्षेत्र धेरै अनियमितता हुने क्षेत्र होः सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना र प्रविधिको क्षेत्रमा धेरै अनियमितता हुने गरेको बताएकी छन् । मंगलबार काठमाडौंमा अयाोजित एक कार्यक्रममा मन्त्री शर्माले सूचना र प्रविधिको क्षेत्र आम जनताले नबुझ्ने क्षेत्र र धेरै अनियमितता हुने क्षेत्र रहेको टिप्पणी गरिन् ।

अनियमिततालाई नियन्त्रण गर्न यस क्षेत्रलाई आम जनताले बुझ्न सक्नुपर्ने मन्त्री शर्माको भनाइ छ । उनले यस क्षेत्रको अनियमितताबारे सबैतिरबाट खबरदारी हुन आवश्यक रहेको बताइन् । यो क्षेत्रमा हुने अनियमितताको बारेमा जानकार नहुँदा बढी अनियमितता हुने गरेको उनको भनाइ छ ।

‘यो सूचना र प्रविधिको क्षेत्र भनेको आम जनताले नबुझ्ने क्षेत्र र असाध्यै धेरै अनियमितता हुने क्षेत्र हो । त्यो अनियमिततालाई नियन्त्रण गर्न पनि के गर्नुपर्छ भने यो क्षेत्रलाई आम जनताले बुझ्न सक्नुपर्छ,’ मन्त्री शर्माले भनिन्, ‘सबैतिरबाट खबरदारी हुनुपर्छ । जसरी अन्य क्षेत्रमा हुने अनियमितताको विषयमा सबै जानकार हुन्छन् । तर यो क्षेत्रमा हुने अनियमितताको बारेमा जानकार नहुँदा रहेछन् ।’

विगतका नीति, नियम, कानुन समयसापेक्ष बनाइ नागरिकलाई सचेत गराउन आवश्यक रहेको मन्त्री शर्माले बताइन् । आगामी आर्थिक वर्षलाई सूचना, प्रविधि दशकको प्रस्थान वर्षको रूपमा अगाडि बढाउने र सूचना प्रविधिलाई अर्थतन्त्रको खम्बाको रूपमा स्थापित गर्ने, नेपाललाई सूचना प्रविधि हबको रूपमा विकास गर्ने, सूचना प्रविधि क्षेत्रमा १० वर्षमा ३० खर्ब रुपैयाँ बराबरको सेवा निर्यात गर्ने र ५ लाखलाई प्रत्यक्ष, अप्रत्यक्ष १० लाखलाई रोजगारी सिर्जना गर्ने लक्ष्य निर्धारण गरिएको उनको भनाइ छ ।

सूचना र प्रविधिको क्षेत्रका समस्या समाधान र अनियमितता हटाउन मन्त्रालयको नेतृत्वमा कार्यदल बनाएर जाने कुरामा छलफल भइरहेको उनको भनाइ छ । सूचना, प्रविधि दशकका लागि कार्यदलले क्रमशः वर्षहरूमा के गर्दै जाने भन्ने एजेण्डा बनाउने उनको भनाइ छ । २०७६ मा सुरु भएको डिजिटल नेपाल फ्रेमवर्कको प्रभावकारी कार्यान्वयन हुन नसकेको उनको भनाइ छ ।

धेरै टिप्पणी गरिएका