जोडिनुहोस
  • होमपेज
  • दलित समुदायको हक अधिकार कार्यान्वयनमा सरकार उदासिन : जीवन परियार

दलित समुदायको हक अधिकार कार्यान्वयनमा सरकार उदासिन : जीवन परियार

काठमाडौं । दलित समुदायका ९० प्रतिशत गरिबीको रेखामुनि रहेकोप्रति सरकारको ध्यान नगएको विषयलाई सदनमा उठाइएको छ । बुधबार प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सहमहामन्त्री समेत रहेका सांसद जीवन परियारले संविधानको मौलिक हक कार्यान्वयनमा सरकार उदासिन भएको भन्दै प्रश्न उठाए ।

उनले धारा ४० मा दलितसम्बन्धी हकको व्यवस्था गरिए पनि सरकारले कार्यान्वयन गर्न नचाहेको भन्दै आक्रोश पोखे । “धारा ४० न सरकारका मन्त्रीहरूले पढ्नुहुुन्छ, न सरकारमा एकजना दलित समुदायबाट मन्त्री हुनुहुन्छ,” उनले भने ।

धारा ४० ले दलितहरूको हक अधिकारबारेमा शिक्षा, रोजगारी, आवास, जग्गा, छात्रवृत्ति, स्वास्थ्य सेवालगायत अधिकार उल्लेख गरेको भन्दै उनले उक्त धाराको कार्यान्वयन गर्न सरकार चुकेको बताए ।

“यो देशमा १३.८ प्रतिशत जनसंख्या दलित समुदायको छ । त्यो भनेको ४५ लाख हाराहारी हो । उक्त जनसंख्यामध्ये ९० प्रतिशत दलित गरिबीको रेखामुनि छन्,” उनले भने, “यसका लागि कुनै कार्यक्रम ल्याउन सरकारले सकेको छैन ।”

सांसद परियारले छुवाछुतमुक्त राष्ट्र घोषणा भएको १८ वर्ष बितिसक्दा पनि कार्यान्वयनको अवस्था भने सकारात्मक नभएको बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका